Skip to content

रास्वपा–बालेन निर्णायक वार्ता आजै, सहमतिको खाका अन्तिम चरणमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको निर्णायक भेटघाटको तयारी अन्तिम चरणमा पुगेको छ। आजै वार्ता गरी निष्कर्ष सुनाउने तयारी दुवै पक्षले गरेका छन्।

सहमतिको खाका तयार पार्ने जिम्मेवारीमा रहेका कुमार बेन, असीम शाह र आसिफ शाहले केहीबेरअघि रास्वपा सभापति लामिछानेसँग भेटवार्ता गरेका छन्। छलफलमा सहभागी एक सदस्यका अनुसार वार्ता निष्कर्षउन्मुख छ र सकारात्मक निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ । निकट स्रोतका अनुसार प्रस्तावित एकीकृत पार्टी संरचनामा बालेनको वरियता रवि लामिछानेभन्दा ठीक मुन्तिर रहने र बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा रवि कायम रहने सहमति भएको छ । यसअघि रविसँग भएका छलफलहरू टुंगोमा नपुगेको संकेत पाएपछि बालेनले आफ्ना सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा आफूनिकट देश विकास पार्टीका लागि समर्थन जुटाउने प्रयास तीव्र पारेका थिए। ७ पुसको राति कमलपोखरीमा भएको छलफलका विषयलाई रविले बाहिर फरक ढंगले प्रस्तुत गरेको भन्दै बालेन असन्तुष्ट बनेका थिए । बालेनले देश विकास पार्टीको ब्यानरमा अघि बढ्ने तयारी थालेपछि रवि झस्किएको बताइन्छ। त्यसपछि बिहीबार अपराह्नसम्म दुवै नेताबीच पुनः भेट भएर सम्भावित एकता प्रक्रिया, पार्टीको नाम, चुनाव चिह्न तथा उम्मेदवार अनुपातबारे छलफल भएको थियो । रविले रास्वपामा पहिल्यै धेरै आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची बनाउने प्रस्ताव गरेका थिए भने त्यसमा संख्या तलमाथि गर्न सकिने लचकता पनि देखाएका थिए। बालेनले भने समानुपातिक संख्यामा खासै चासो नदिएको बुझिएको छ। यस विषयमा कुमार बेन, असीम शाहलगायतले तयारी गर्ने र त्यसलाई बालेनले सहमति जनाउने समझदारी भएको स्रोतको भनाइ छ।

हिजो ज्वागलमा बालेनसँगको भेटपछि सञ्चारकर्मीले लामिछानेलाई चुनाव चिह्न ‘लौरी कि घण्टी’ भनी सोध्दा उनले ‘समयले बताउने’ प्रतिक्रिया दिएका थिए। यद्यपि रास्वपाको चुनाव चिह्न घण्टी आम रूपमा स्थापित भइसकेकाले त्यसअन्तर्गत अघि बढ्न बालेनलाई समस्या नहुने संकेत दुवै पक्षबाट प्राप्त भएको छ । दुई नेताबीचको संवाद तिक्ततातर्फ उन्मुख हुन थालेको देखेपछि सहकर्मी तथा निकटस्थहरूले अविलम्ब मिल्न दबाब दिएका थिए। बिहीबार साँझ पुनः वार्ता हुने भनिए पनि त्यो सम्भव हुन सकेन। सोही समयमा बालेनले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग अलग्गै छलफल गरेका थिए । रवि र कुलमानबीच प्रत्यक्ष संवाद स्थापित नभइरहेका बेला कुलमानसहित विभिन्न शक्ति र व्यक्तिलाई एक ठाउँमा ल्याउने जिम्मेवारी बालेनले लिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्