Skip to content

मुख्यमन्त्री बानियाँ भन्छन्– दुग्ध क्षेत्र विस्तारमा प्रदेश सरकार सधैं साथमा

सिन्धुली – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कमलामाई सामाजिक उद्यमी महिला दुग्ध सहकारी संस्थाद्वारा निर्माण गरिएको दूध संकलन तथा चिस्यान केन्द्र उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका–४ ढकालगाउँमा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत २५ लाख रुपैयाँको ‘बिल्कीवे’ परियोजना र थप ४० लाख रुपैयाँसहित करिब ६५ लाख रुपैयाँको लगानीमा निर्माण भएको केन्द्र उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले दुग्ध संकलन तथा चिस्यान केन्द्रको सञ्चालन र विस्तारका लागि प्रदेश सरकार सधैं सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । गरिबको आयआर्जन वृद्धि, स्वास्थ्य र न्याय सुनिश्चित गर्नु नै गणतन्त्रको मूल धर्म भएको उल्लेख गर्दै उनले पूँजी विकास र कर संकलनमार्फत जनतालाई सेवा–सुविधा उपलब्ध गराउनु राज्यको मुख्य जिम्मेवारी भएको बताए । मुख्यमन्त्री बानियाँले सहकारीमा हाल रहेका ८० वटा गाईलाई आगामी दिनमा क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी दिए । दुग्ध उत्पादनमार्फत गरिब परिवारलाई आत्मनिर्भर बनाउने अभियानमा महिला दिदीबहिनीहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले तीनै तहका सरकारलाई सहयोगका लागि आग्रह गरे ।

उनले बागमती प्रदेश सरकारले गरिब तथा विपन्न एक हजार घरपरिवारलाई बिना धितो दुई लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउने नीति अघि बढाएको जानकारी दिए। कृषि खेती, गाईपालन, मौरीपालन, कुखुरापालन, बाख्रापालन तथा तरकारी खेतीजस्ता क्षेत्रमा संलग्न हुन इच्छुक परिवारलाई स्थानीय तहसँग समन्वय गरी सहयोग प्रदान गरिने र उक्त रकममा ब्याज नलाग्ने व्यवस्था गरिने बताए । दुईदेखि तीन वर्षसम्मको कार्यविधि बनाएर कार्यक्रम कार्यान्वयन गरिने उनको भनाइ थियो । प्रदेश भनेको विकास, भूगोल, पहिचान र नेतृत्वको प्रतिस्पर्धा भएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले समावेशी र दिगो विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्