Skip to content

अब विशेष महाधिवेशनको विकल्प छैन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अब विशेष महाधिवेशनको विकल्प नरहेको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन मागकर्ताहरूले पार्टीलाई बुझाएको स्मरण पत्र शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बुझ्दै महामन्त्री थापाले नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशनमा जानु अनिवार्य भइसकेको बताएका हुन् । उनले विधानअनुसार विशिष्ट कारण देखाएर विशेष महाधिवेशन अनिवार्य गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । हस्ताक्षरकर्ताहरूले बुझाएको स्मरण पत्रअनुसार पुस मसान्तसम्म अर्थात् तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको थापाको भनाइ छ । नियमित महाधिवेशन नहुने भएपछि अब विशेष महाधिवेशन बाहेक अर्को विकल्प नरहेको उनले दोहोर्‍याए । महामन्त्री थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नु केन्द्रीय कार्यसमिति र कार्यवाहक सभापति पूर्णबहादुर थापाको अनिवार्य जिम्मेवारी भएको बताए । तोकिएको समयमै पन्ध्रौँ महाधिवेशन सम्पन्न भएको भए विशेष महाधिवेशनको माग अर्थहीन हुने तर अहिले विशेष महाधिवेशन अनिवार्य शर्त बनेको उनको धारणा छ । स्मरण पत्रबारे जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्कालाई जानकारी गराइने पनि थापाले बताए । त्यसैगरी अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानमा भएको व्यवस्था पालना गर्नु केन्द्रीय कार्यसमिति र कार्यवाहक समितिको जिम्मेवारी भएको बताएका छन् । शुक्रबार विशेष महाधिवेशनका मागकर्ताहरू पार्टी केन्द्रीय कार्यालय पुगेर महामन्त्रीद्वय थापा र शर्मालाई बोधार्थ गराउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई स्मरण पत्र बुझाएका थिए ।

यसअघि गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै २४८८ प्रतिनिधिको हस्ताक्षरसहित कार्यवाहक सभापति खड्कालाई ज्ञापनपत्र बुझाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्