काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीच शनिबार निर्णायक हुने भनिएको वार्ता अनिश्चित बनेको छ । शुक्रबार अबेरसम्म भएको दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव अघि सारेपछि सहमति जुट्न नसक्दा वार्ता अन्योलमा परेको हो । छलफलका क्रममा रास्वपाका सभापति रवि लामिछाने नेतृत्वको पक्ष र बालेन समूहबीच मूलतः राजनीतिक सहकार्यका विषयमा संवाद भएको थियो । प्रारम्भिक रूपमा सभापति रवि लामिछानेलाई अगाडि बढाउने र भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई प्रस्ताव गर्ने विषयमा मोटामोटी समझदारी बनेको बताइए पनि केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी छनोटमा आधा–आधा हिस्सा दाबी गरिएपछि सहमति टुटेको स्रोतको भनाइ छ ।
शुक्रबार वार्तामा निष्कर्ष ननिस्किएपछि बालेन शाहले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग परामर्श गरी पुनः वार्तामा बस्ने तयारी भएको बताइए पनि हालसम्म त्यसबारे ठोस जानकारी आएको छैन । शनिबार बिहान मात्र कुलमान घिसिङ र बालेन समूहबीच छलफल भए पनि उक्त भेटघाटबाट पनि कुनै ठोस प्रस्ताव बाहिर आएको छैन । रास्वपा पक्षले शनिबार पुनः छलफल हुने अपेक्षा गरिएको भए पनि हालसम्म कुनै बैठक तय नभएको जनाएको छ । पार्टीका अनुसार हाल कुनै समूहसँग औपचारिक छलफल भएको छैन र रवि लामिछाने तथा बालेन शाहबीच प्रत्यक्ष भेटवार्ताको सम्भावना पनि देखिएको छैन । समानुपातिक तर्फको बन्द सूची बुझाउने समय १४ गतेसम्म रहेकाले तत्काल हतारिनुपर्ने अवस्था नरहेको रास्वपाको बुझाइ छ ।
यता बालेन समूह भने कुलमान घिसिङको प्रतिक्रियाको प्रतीक्षामा रहेको र राजनीतिक सहकार्यमा रेशम चौधरी तथा सीके राउतलाई पनि समेट्नुपर्ने प्रस्ताव अघि सारेको बताइएको छ ।
मंगलबार रातिदेखि रास्वपाको राजनीतिक वार्ता संवाद समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह तथा बालेन समूहबाट कुमार बेन, स्वकीय सचिव भूपदेव शाहलगायतका प्रतिनिधिबीच लगातार छलफल भए पनि हालसम्म कुनै निष्कर्ष ननिस्किएको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्