Skip to content

रवि–बालेन सम्झौता : ‘सत्ताका लागि देश लिलाम गर्ने खेल’

 

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । उनले उक्त सम्झौता ‘केबल सत्ताका लागि’ गरिएको र ‘विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्य’ले अघि बढाइएको आरोप लगाएका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै साम्पाङले भने, ‘कुर्सिको लागि र यो देशलाई लिलाम गर्नका लागि यस्तो सम्झौता गरिएको हो । विदेशी हालीमुहाली प्रत्यक्ष हामीले महसुस गरिसकेका छौँ, अब त्यसलाई संस्थागत गर्न खोजिँदैछ ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को नाम नलिई टिप्पणी गरे पनि संकेत उनीहरूतर्फ नै केन्द्रित देखिएको छ ।

साम्पाङले विशेष गरी बालेनलाई लक्षित गर्दै जेन–जी आन्दोलनका बेला देश अशान्त बन्दै जाँदा टुलुटुलु हेरेर बसेको आरोप लगाए । उनले बालेनलाई ‘भित्रभित्र लुकेर डरलाग्दो खेल खेल्ने’ र ‘लुकेर राजनीति गर्ने’ व्यक्तिको संज्ञा दिएका छन् । ‘जो भित्रभित्र लुकेर डरलाग्दो खेल खेल्छ, जेन–जीलाई उक्साएर लड्न भिड्न पठाउँछ । ७०–८० जना हताहत हुँदा पनि देश खरानी भएको टुलुटुलु हेरेर बस्छ, बाहिर आउँदैन,’ साम्पाङले भने, ‘सरकार चलाइदिनुपर्‍यो भनेर अनुरोध गर्दा पनि आउँदैन ।’ यसैगरी साम्पाङले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सन्दर्भ जोड्दै रवि लामिछानेप्रति लक्षित टिप्पणीसमेत गरेका छन् । उनले विदेशी एजेन्डा बोकेर सत्ता प्राप्तिको खेल भइरहेको दाबी गर्दै त्यसप्रति सचेत रहन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्