काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी व्यग्रताका साथ निर्वाचन पर्खिरहेको बताएका छन् । एमालेले हालै सम्पन्न गरेको महाधिवेशनले पार्टीको आन्तरिक जीवनमा स्पष्ट फैसला दिएको र अब निर्वाचनमार्फत राष्ट्रिय फैसला दिन पार्टी पूर्ण रूपमा तयार रहेको उनले बताए । मंगलबार एमालेद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनले पार्टीको दिशा, नीति र नेतृत्वबारे स्पष्ट सन्देश दिएको उल्लेख गरे । उनले अबको निर्वाचनले देशमा कसको लोकप्रियता छ भन्ने विषयको अन्तिम निर्णय गर्ने पनि बताए । उनका अनुसार निर्वाचनसम्म विभिन्न शक्तिहरूबीच लोकप्रियताको चर्चा चलिरहने भए पनि अन्ततः निर्णय जनताले मतमार्फत गर्नेछन् । त्यसका लागि एमाले तयार रहेको र निर्वाचनबाट जनताको विश्वास जित्ने लक्ष्यमा पार्टी अघि बढेको उनले बताए । फरक प्रसंगमा अध्यक्ष ओलीले लोकतन्त्र कसैले पराजित गर्न नसक्ने दाबी गरे। लोकतन्त्र सधैं अजेय रहने र अन्ततः लोकतन्त्रले नै जित्ने उनको भनाइ थियो । यसैबीच उनले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीका विषयमा भएको भनिएको सहमतिप्रति व्यंग्य गरे। विभिन्न मितिमा प्रधानमन्त्री बनाउने चर्चा भइरहेकोतर्फ संकेत गर्दै उनले एमाले भने निर्वाचनकै प्रतीक्षामा रहेको स्पष्ट पारे ।





प्रतिक्रिया दिनुहोस्