Skip to content

स्विट्जरल्यान्डको स्की रिसोर्टस्थित बारमा भीषण आगलागी, ४० जनाको मृत्यु, ११५ घाइते

काठमाडौं – स्विट्जरल्यान्डको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानास्थित ‘ली कन्स्टेलिसन’ नामक बारमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने ११५ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

नयाँ वर्षको उत्सव चलिरहेका बेला स्थानीय समयअनुसार बिहीबार बिहान करिब १:३० बजे आगलागी भएको हो । भालिस क्षेत्रको उक्त पर्यटकीय स्थलमा आगो नियन्त्रणमा लिन रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र करिब १५० आपतकालीन उद्धारकर्मी परिचालित गरिएको थियो । अधिकारीहरूका अनुसार मृतक र घाइतेको यकिन संख्या अझै पुष्टि हुन सकेको छैन । यद्यपि स्थानीय प्रहरीले कम्तीमा ४० जनाको मृत्यु भएको पुष्टि गरेको छ । धेरै व्यक्ति आगोमा जलेर गम्भीर घाइते भएका छन् । भालिसको सियोन अस्पतालमा मात्रै ६० जनालाई भर्ना गरिएको छ, जसमध्ये ‘धेरैजना अति गम्भीर अवस्थामा’ रहेको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । थप उपचारका लागि केही घाइतेलाई विशेष बर्न्स युनिट भएका स्विट्जरल्यान्डका अन्य सहर—लोजान र ज्युरिख—का अस्पतालमा सारिएको छ । लोजान युनिभर्सिटी अस्पतालमा २२ जना जलेका बिरामीको उपचार भइरहेको छ भने ज्युरिख युनिभर्सिटी अस्पतालले १२ जनाको उपचार गरिरहेको जनाएको छ । केही घाइतेको उपचार जेनेभा युनिभर्सिटी अस्पतालमा पनि भइरहेको छ ।

आगलागीमा विभिन्न देशका नागरिक प्रभावित भएका छन् । इटालीको विदेश मन्त्रालयले १६ जना इटालियन नागरिक बेपत्ता रहेको र १२ देखि १५ जनाले अस्पतालमा उपचार गराइरहेको जनाएको छ । फ्रान्सको विदेश मन्त्रालयले आठ जना फ्रान्सेली नागरिक बेपत्ता रहेको र मृतकमध्ये फ्रान्सेली पनि हुन सक्ने सम्भावना नकार्न नसकिने बताएको छ । फ्रान्सेली सञ्चारमाध्यमले कम्तीमा दुई फ्रान्सेली नागरिक घाइते भएको रिपोर्ट गरेका छन् । तीन जना इटालियन नागरिकलाई मिलानको निघुवार्दा अस्पताल (जहाँ ठूलो बर्न्स युनिट छ) मा सारिँदैछ । उनीहरूको शरीरको ३०–४० प्रतिशत भाग जलेको इटालियन काउन्सिलर गुइडो बर्तोलासोले बताएका छन् । बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले आगलागीका बेला बारभित्र कति जना थिए भन्ने यकिन जानकारी नभएको बताएका छन् । राज्य काउन्सिलर स्टेफान गान्जरका अनुसार नयाँ वर्षको पार्टीका कारण बारमा युवाहरूको ठूलो भीड थियो । अटर्नी जनरल बियाट्रिस पिलुदले आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएकी छन् । चम्किने फ्लेयरसहितका स्याम्पेन बोतलहरू आगलागीको कारण हुन सक्ने हल्ला तथा सिँढीहरू साँघुरा थिए कि थिएनन् भन्ने विषयमा अनुसन्धान जारी रहेकाले तत्काल केही पुष्टि गर्न नसकिने उनको भनाइ छ । स्विट्जरल्यान्डका लागि इटालियन राजदूत जियान लोरेन्जो कोर्नादोले मृतकहरूको पहिचान गर्न हप्तौँ लाग्न सक्ने बताएका छन् । पीडित परिवारसँग सहजीकरणका लागि हेल्पलाइन नम्बर +४१ ८४८ ११२ ११७ खुला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्