Skip to content

नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ वैशाख २८–३१ मा हुने

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको नियमित १५ औँ महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका प्रस्ताव पारित गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले यसअघि पुसमा प्रस्ताव गरिएको महाधिवेशन तोकिएकै मितिमा गर्न सम्भव नभएपछि नयाँ कार्यतालिका पास गरिएको जानकारी दिए। उनका अनुसार संशोधित कार्यतालिकाअनुसार वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन आयोजना हुनेछ । प्रवक्ता महतले कार्यतालिकाअनुसार चैत २१ गतेदेखि नै अधिवेशन प्रक्रिया प्रारम्भ हुने बताए। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख मसान्तभित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जुन सर्वसम्मतिले पारित भएको हो । पारित कार्यतालिकाअनुसार चैत २१ गते गाउँ–नगर अधिवेशन प्रारम्भ हुनेछ भने चैत २५ गते गाउँ तथा नगरपालिका अधिवेशन सम्पन्न गरिनेछ। चैत २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन तोकिएको छ। त्यस्तै, वैशाख २ गते एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन र वैशाख ५ गते दुई वा सोभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन हुने छ । कार्यतालिकामा वैशाख १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन गर्ने र वैशाख मसान्तभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने उल्लेख छ। कांग्रेसले नयाँ कार्यतालिकाअनुसार संगठन सुदृढीकरण र नेतृत्व चयनको प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्