Skip to content

दलभित्रको विभाजनले लोकतन्त्रलाई ठुलो मूल्य चुकाउन बाध्य बनाउँछ: प्रदीप ज्ञवाली

काठमाडौँ – नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको आन्तरिक अवस्था कमजोर वा विभाजित हुँदा त्यसको प्रत्यक्ष असर मुलुकको लोकतान्त्रिक प्रणालीमा पर्ने बताएका छन्। विगतका राजनीतिक घटनाक्रम स्मरण गराउँदै उनले दलभित्रको कमजोरीले अन्ततः लोकतन्त्रले नै ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले वि.सं. २०५४ मा नेकपा (एमाले) मा भएको विभाजनले मुलुकमा हिंसात्मक द्वन्द्व राष्ट्रव्यापी रूपमा विस्तार हुन सघाएको उल्लेख गरेका छन्। त्यस्तै, २०५९ सालमा नेपाली कांग्रेसमा भएको विभाजनले राजालाई प्रजातन्त्र अपहरण गर्ने बहाना दिएको यथार्थ पनि बिर्सन नहुने उनको भनाइ छ।

यी उदाहरण प्रस्तुत गर्दै उनले लोकतन्त्रको सुस्वास्थ्यका लागि राजनीतिक दलहरूको आन्तरिक स्वास्थ्य मजबुत हुनु अनिवार्य पूर्वसर्त भएको तर्क गरेका छन् । प्रमुख दलहरू नीति, भूमिका र आन्तरिक प्रबन्धका हिसाबले कमजोर हुँदा त्यसको असर समग्र राष्ट्रिय राजनीतिमा पर्ने उनले बताएका छन् । हालको राजनीतिक सन्दर्भमा संविधान र राष्ट्रिय हितमाथि गम्भीर चुनौतीहरू उपस्थित भएको उल्लेख गर्दै ज्ञवालीले नेपाली कांग्रेसको आन्तरिक विवादप्रति विशेष चासो व्यक्त गरेका छन् । उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले आफ्नो काँधमा रहेको ऐतिहासिक अभिभारालाई बोध गर्दै आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्ने आशा व्यक्त गरेका छन् । लोकतन्त्रको भविष्य दलहरूको एकता र आन्तरिक सुदृढतासँग जोडिएको उल्लेख गर्दै ज्ञवालीले दलहरू फुट्नुको साटो एकजुट र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्