Skip to content

कांग्रेसभित्रको विवाद र विशेष महाधिवेशनबारे डा. कोइरालाको परामर्श बैठक

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायत नेताहरूसँग छलफल गरेका छन् । विशालनगरस्थित सम्पर्क कार्यालयमा शनिबार भएको छलफलमा डा. कोइरालाले पार्टीभित्रको आन्तरिक द्वन्द्व, हालै सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय, विशेष महाधिवेशनको प्रस्ताव र आगामी निर्वाचनका विषयमा नेताहरूको धारणा संकलन गरेका हुन् । छलफलमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको प्रस्तावका सन्दर्भमा कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा समेत गम्भीर विचार–विमर्श गरिएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए। उनका अनुसार आगामी आम निर्वाचनमा पार्टीलाई एकतावद्ध रूपमा अघि बढाउने विषयमा सहभागी नेताहरूले जोड दिएका थिए ।

छलफलका क्रममा विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसेले सो विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए। सहभागी नेताहरूले पार्टीभित्र देखिएका मतभेदलाई संवादमार्फत समाधान गर्दै संगठनलाई एकतावद्ध बनाएर निर्वाचनमा जाने आवश्यकतामा जोड दिएका थिए । विशेष महाधिवेशनका पक्षधर नेताहरूसँग थप परामर्श गरेर आगामी कदम तय गर्ने सहमतिसहित बैठक टुंगिएको सहमहामन्त्री परियारले जानकारी दिए। उनका अनुसार विशेष महाधिवेशनका हस्ताक्षरकर्ता तथा नेतृत्वकर्ताहरूसँग बसेर साझा धारणा निर्माण गरी अघि बढ्ने विषयमा छलफल केन्द्रित रहेको थियो । डा. कोइरालाले बोलाएको बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, विशेष महाधिवेशन पक्षधर नेतृत्वकर्ता देवराज चालिसे, केन्द्रीय सदस्य दीपक गिरी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, तेजुलाल चौधरीलगायत नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्