काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई पत्नीका साथ पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेपछि रोड्रिग्जको भनाइ सार्वजनिक भएको हो । उपराष्ट्रपति रोड्रिग्जले भनिन्, “सरकारलाई राष्ट्रपति मादुरो र फर्स्ट लेडी सीलिया फ्लोरेसका बारेमा कुनै जानकारी छैन।” उनले राष्ट्रपति मादुरो जीवित रहेको प्रमाण सार्वजनिक गर्न माग गर्दै हाल उनको अवस्था अज्ञात रहेको दाबी गरिन्।
बीबीसीका अनुसार रोड्रिग्जले राष्ट्रपति मादुरोको अवस्थाबारे स्पष्ट जानकारी नआएसम्म विभिन्न आशंका कायमै रहने बताएकी छन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत अमेरिकाले भेनेजुएला र त्यहाँका नेता राष्ट्रपति मादुरोविरुद्ध “ठूलो स्तरको सफल आक्रमण” गरेको दाबी गरेका थिए। ट्रम्पले लेखेका थिए, “मादुरोलाई उनकी पत्नीका साथ पक्राउ गरिएको छ र देशबाहिर लगिएको छ।” उक्त दाबीपछि राजधानी कारकासमा आक्रमण भएको उल्लेख गर्दै राष्ट्रपति मादुरोले राष्ट्रिय संकटकाल घोषणा गरेका थिए। उनले एक विज्ञप्ति जारी गर्दै अमेरिकी सैन्य आक्रमणको कडा निन्दा गरेका थिए । यस घटनाक्रमले भेनेजुएलाको राजनीतिक अवस्था थप अस्थिर बन्दै गएको देखिएको छ ।





प्रतिक्रिया दिनुहोस्