काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक आज बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ । केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार निर्धारित समयमै बैठक बस्ने तयारी गरिएको छ ।
बैठकमा आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारबारे छलफल हुने बताइएको छ । साथै निर्वाचनका सन्दर्भमा सम्भावित तालमेल प्रयासबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकलाई ब्रिफिङ गर्ने तयारी रहेको बुझिएको छ । राष्ट्रियसभामा तालमेल गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच निरन्तर छलफल भए पनि हालसम्म ठोस निष्कर्षमा पुग्न नसकेको अवस्था छ । आजको बैठकमा पार्टीभित्र नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने एक पदाधिकारीले जानकारी दिएका छन् । उनका अनुसार मुलुक निर्वाचनतर्फ उन्मुख रहेकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ । यसअनुसार पार्टीका प्रमुख विभागहरूमा विभागीय प्रमुखहरूलाई संयोजकको जिम्मेवारी दिने, प्रदेश इन्चार्जहरूलाई संयोजकका रूपमा खटाउने तथा जिल्ला इन्चार्जहरूलाई समेत संयोजकको भूमिका प्रदान गर्ने तयारी रहेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्