काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्का तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन्। राजनीतिक गतिविधिमा सक्रिय रूपमा संलग्न भएको पाइएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई पदबाट हट्न सुझाइएको एक मन्त्रीले जानकारी दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले नागरिक सरकारको अवधारणा स्मरण गराउँदै राजनीतिक गतिविधिमा संलग्न नहुने व्यक्तिमात्रै आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा रहनुपर्ने स्पष्ट सन्देश दिएको ती मन्त्रीको भनाइ छ। बैठकमा उनले केही मन्त्रीहरू सरकारको मर्यादा विपरीत राजनीतिक गतिविधिमा सक्रिय देखिएको भन्दै कडा प्रश्न उठाएकी थिइन् । प्रधानमन्त्री विशेषगरी ऊर्जामन्त्री कुलमान घिसिङको राजनीतिक सक्रियताप्रति बढी गम्भीर बनेको बताइएको छ। हालै कुलमान संरक्षक रहेको ‘उज्यालो नेपाल’ पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित गरिएको थियो। त्यसपछि रास्वपाले कुलमानलाई उपसभापति बनाएको घटनाले प्रधानमन्त्री असन्तुष्ट भएको स्रोतको दाबी छ ।
त्यस्तै खेलकुदमन्त्री बब्लु गुप्ता पनि रास्वपाका गतिविधिमा सक्रिय रूपमा देखिँदै आएको र सञ्चारमन्त्री जगदीश खरेलले समेत आफ्नो स्वार्थअनुकूल राजनीतिक गतिविधि गरिरहेको प्रधानमन्त्रीको बुझाइ रहेको जनाइएको छ । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि नागरिक सरकारको अवधारणाअनुसार सुशीला कार्कीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । सरकार गठनकै बेला प्रधानमन्त्रीले दलगत राजनीति भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउँदै आएकी थिइन् । सोही प्रतिबद्धताको उल्लङ्घन भएको ठहर गर्दै उनले सम्बन्धित मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्