नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी घोषणा पुस २९ गते हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार साँझ अबेर सकिएको नेताहरूबीचको परामर्श बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुराकानीमा नेता झलनाथ खनालले पुस २९ गते केन्द्रीय सदस्यहरूको घोषणा र शपथ हुने बताएका हुन् । पार्टीको बाँकी संगठनात्मक संरचना पनि पुस २९ गतेभित्र तयार गरिसक्ने निर्णय भएको अर्का नेता अग्नि सापकोटाले जानकारी दिए । कात्तिक १९ गते १० वटा कम्युनिस्ट घटकहरूबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता हुँदासम्म नेकपामा १६ वटा घटक तथा व्यक्तिहरू समाहित भएका छन् ।





प्रतिक्रिया दिनुहोस्