काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते भएका आगजनी तथा तोडफोडका घटनामा संलग्न व्यक्तिहरू नेपाली हुन नसक्ने र उनीहरू देशद्रोही तथा अपराधी भएको बताएका छन्। उनले उक्त घटनालाई तात्कालिक नभई आठ–दश वर्षअघिदेखिको योजनाबद्ध कार्य भएको दाबी गरेका छन्।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी पुस्ता यस प्रकारका गतिविधिमा संलग्न नभएको स्पष्ट पारे। उनका अनुसार आगजनी र तोडफोड सुनियोजित रूपमा गरिएको हो । ओलीले संसद् भवन, सरकारको मुख्यालय, सर्वोच्च अदालतसहितका न्यायिक संरचना लक्षित गरी आगजनी गरिएको उल्लेख गरे। उनका अनुसार खास व्यक्तिहरूसँग सम्बन्धित मिसिल रहेका स्थान पहिचान गरेर नै आगो लगाइएको थियो। यसका लागि प्रशिक्षित समूह परिचालन गरिएको र कार्यालय तथा घरहरू पहिल्यै लोकेट गरिएको उनले बताए । उनले बेहोस पारिएका, बहकाइएका र आत्मा किनबेच गरिएका तत्त्वहरूले यस्ता गतिविधि सञ्चालन गरेको टिप्पणी गर्दै यस प्रकारको आचरण नेपाली समाजको बुद्धि, मति र संस्कारसँग मेल नखाने धारणा व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्