Skip to content

निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारविरुद्ध उजुरी दिने कार्यतालिका सार्वजनिक

काठमाडौँ – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरेको छ। आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आज बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको दाबी–विरोधमा उजुरी दिन सकिनेछ ।

राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको थियो । आयोगका अनुसार पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । आगामी निर्वाचनसँगै राष्ट्रिय सभामा १८ पद रिक्त हुँदैछन्। रिक्त हुने स्थानमध्ये नेकपा (एमाले) का ८, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ८, जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका समान १–१ तथा एक स्थान राष्ट्रपतिबाट मनोनयन हुने कोटाको रहेको छ ।

एमालेतर्फ इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बिसीको पदावधि सकिँदैछ । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भूसालको पदावधि पनि समाप्त हुँदैछ । जसपा नेपालका मृगेन्द्रकुमारसिंह यादव, लोसपाका शेखरकुमार सिंह तथा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन भएका नेकपा नेता वामदेव गौतमको पदावधि समेत सकिन लागेको छ । रिक्त १८ स्थानका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा नेपालबीच गठबन्धन भएको छ भने नेपाली कम्युनिस्ट पार्टीले एकल उम्मेदवारी दिएको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा गाउँपालिका/नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्