काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने भय र भ्रम नराख्न आग्रह गरेका छन्। राजनीतिक वृत्तमा कांग्रेसको भविष्यबारे विभिन्न टिप्पणी भइरहँदा उनले विशेष महाधिवेशनले पार्टी नफुट्ने स्पष्ट पारेका हुन् । शुक्रबार बिहान सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत् उनले भने, “फुट्ने भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रह। दोस्रो विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो ।” महामन्त्री शर्माले अर्का महामन्त्री गगन थापाले दिएको ‘विष पिउने’ अभिव्यक्ति र आफ्नो ‘हलबाट बाहिरिने’ भनाइबारे पनि प्रष्ट्याएका छन्। “पार्टी एकता जोगाउन विष पिउन तयार, विभाजन हुनलागे हलबाट बाहिरिने भन्ने हाम्रो अभिव्यक्तिको अर्थ स्पष्ट छ,” उनले लेखेका छन्, “विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजन हुँदैन।” उनले विशेष महाधिवेशनलाई पार्टी सुदृढीकरण र समयअनुकूल सुधारको माध्यमका रूपमा अघि बढाइने संकेत गर्दै आन्तरिक एकता कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्