काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय बीमा कम्पनीसँग निर्वाचनमा खटिने कर्मचारीहरूको २० लाखको दुर्घटना बीमा गरेको छ । पुस १३ गते आयोगले २ लाख १३ हजार १ सय ६१ कर्मचारीको १५ दिनदेखि ९० दिनसम्मको बीमा गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगले बीमा गराएको जानकारी दिएको छ । साथै आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री व्यवस्थापनको काम अघि बढेको समेत जनाएको छ । साथै सरकारी निकायबाटै ‘जिटुजी’ मार्फत् खरिद गर्न लागिएको उल्लेख गरेको छ ।
जिल्लास्थित कार्यालयहरूले खरिद गर्ने सामग्री समेत सम्भव भएसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका देशभरका कार्यालयहरूले आपूर्ति गर्ने गरी जिल्ला कार्यालयहरूले प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
‘हालसम्म ३३ वटा जिल्ला कार्यालयहरूले यस्तो सम्झौता गरेको जानकारी प्राप्त भएको छ’, आयोगले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको छ । निर्वाचन आयोगले ट्रेड युनियनमा आबद्ध सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्वाचन कार्यमा नखटाउने नीति लिएको जनाएको छ । निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन भने प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । आयोगले निर्वाचनको आचारसंहिताको अनुगमनका लागि युएनडिपीको सहयोगमा इमोनिटर प्लस सफ्टवेयर सञ्चालनमा ल्याउने जनाएको छ । साथै साइबर सुरक्षा समेतलाई ध्यान दिएर मिस इन्फरमेसन र डिस इन्फरमेसन न्यूनीकरणका लागि विभिन्न अनुसन्धान र नियमनकारी निकायका प्रतिनिधिहरूलाई राखेर इन्फरमेसन इन्ट्रिगी युनिट सञ्चालनमा ल्याएको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्