काठमाडौं – नेपाल राष्ट्र बैंकले नगद कारोबारलाई थप कडाइ गर्दै ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले ५ लाख रुपैयाँभन्दा माथिको चेक जारी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्ने प्रावधान लागू गरेको हो । यसअघि १० लाख रुपैयाँसम्मको नगद कारोबार गर्न सकिने व्यवस्था रहेकामा सरकारले सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्ने उद्देश्यले उक्त सीमा घटाएर ५ लाख कायम गरेको थियो। सो निर्णय नेपाल राजपत्रमा प्रकाशित भइसकेपछि राष्ट्र बैंकले चेकमार्फत प्रतिपटक झिक्न सकिने नगद सीमा पनि ५ लाखमै सीमित गरेको हो। अब ५ लाखभन्दा बढी रकम सम्बन्धित व्यक्तिको खातामै जम्मा गर्नुपर्नेछ । नयाँ निर्देशनअनुसार कुनै पनि व्यक्ति वा संस्थाले नगदमा प्रतिपटक ५ लाखभन्दा कम मात्र कारोबार गर्न पाउनेछन्। ५ लाखभन्दा बढी रकमको कारोबार अनिवार्य रूपमा एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार यो व्यवस्थाले सामाजिक कार्य वा व्यापारमार्फत नगद संकलन गर्ने परिवार तथा संस्थालाई असर नगर्नेछ । तर, बैंक तथा वित्तीय संस्थाले ५ लाख वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी चेक वा सम्बन्धित व्यक्तिको खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ ।
त्यस्तै, फर्म, कम्पनी, संस्था वा कार्यालयका नाममा काटिएका सबै चेक पनि एकाउन्ट पेयी नै हुनुपर्ने व्यवस्था गरिएको छ । यद्यपि, कुनै निक्षेपकर्ता वा बचतकर्ताले विशेष कारणसहित नगद भुक्तानीको निवेदन दिएमा र कारण मनासिब देखिएमा तोकिएको सीमाभन्दा बढी नगद भुक्तानी गर्न सकिनेछ। यस्तो भुक्तानीको मासिक विवरण भने अद्यावधिक गर्नुपर्नेछ । यसका साथै, लघुवित्त वित्तीय संस्थाले पनि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को उद्देश्यलाई सहयोग पुर्याउने गरी ५ लाख वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।





प्रतिक्रिया दिनुहोस्