काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफू रूकुम पूर्वबाट उम्मेदवार बन्ने करिब निश्चित भएको बताएका छन् । शनिबार रूकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यसपटकको चुनाव रूकुमबाट लड्ने तयारी अन्तिम चरणमा पुगेको संकेत गरेका हुन्। रूकुम पूर्वमा उम्मेदवारी निश्चितजस्तै भए पनि रूकुम पश्चिमसँगको राजनीतिक सम्बन्ध र सहकार्य निरन्तर रहने उनको भनाइ थियो। उनले रूकुम पश्चिममा गोपाल शर्मालाई जिताउन आग्रह समेत गरेका छन् ।
रूकुम पश्चिम नेकपा (माओवादी केन्द्र)का पूर्व नेता जनार्दन शर्माको गृहजिल्ला हो। जनार्दन शर्मा नेकपा एकताबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि रूकुम पश्चिमको राजनीतिक समीकरण फेरिएको छ । प्रचण्ड रूकुम पूर्वसहित देशका १० निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्। उनी कालिकोट, कास्की–३, नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा र कैलाली–३ बाट पनि सिफारिस सूचीमा परेका छन्। कतिपय स्थानमा उनी एकल उम्मेदवारका रूपमा र कतिपय स्थानमा अन्य नेतासँगै सिफारिस भएका हुन् । चुनावैपिच्छे निर्वाचन क्षेत्र परिवर्तन गर्दै उम्मेदवारी दिने उनको राजनीतिक छवि रहँदै आएको छ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० र रोल्पाबाट उम्मेदवार भई दुवै स्थानबाट निर्वाचित भएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र सिराहाबाट उम्मेदवार बनेका उनी सिराहाबाट निर्वाचित भए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका प्रचण्ड २०७९ सालको निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार भई विजयी भएका थिए।





प्रतिक्रिया दिनुहोस्