Skip to content

एमाले सचिव बस्नेत भन्छन्– कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा

काठमाडौँ – नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास असफल भएपछि घिसिङ ‘न घरको न घाटको’ अवस्थामा पुगेको उनको दाबी छ । बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रवि लामिछानेको भरोसामा पर्दा घिसिङले मन्त्री पद र समानुपातिक उम्मेदवार बन्ने अवसर दुवै गुमाएको उल्लेख गरेका छन् । उनले रवि लामिछानेको राजनीतिलाई ‘माकुराको जालो’ सँग तुलना गर्दै त्यसमा परेपछि उम्किन गाह्रो हुने टिप्पणी गरेका छन् ।

उनका अनुसार नेकपा एमाले र नेपाली कांग्रेसजस्ता पुराना दलहरू चराझैँ शक्तिशाली भएकाले यस्तो जालो तोड्न सक्छन्, तर कुलमान घिसिङ र काठमाडौँका मेयर बालेन शाहजस्ता नयाँ पात्रहरू पुतलीजस्तै कमजोर रहेको आरोप लगाए । अन्तर्राष्ट्रिय शक्तिले बुनेको जालोमा परेर कुलमान अन्धकारतर्फ धकेलिएको उनको तर्क छ । ‘केही महिनाका लागि अस्थायी मन्त्रीको पद त आयो, तर त्यसको मूल्यमा राजनीतिक भविष्य नै समाप्त भयो,’ बस्नेतले लेखेका छन् । उनले कुलमानको अवस्थाबाट पाठ नलिए अब बालेन शाहको पालो आउन सक्ने चेतावनीसमेत दिएका छन् ।

पार्टी एकताको नाममा रवि लामिछानेले कुलमानलाई प्रयोग गरेर बिचल्लीमा पारेको र समानुपातिक उम्मेदवार दर्ता गर्ने समयसमेत घर्किसकेको बस्नेतको जिकिर छ । सामाजिक सञ्जालमा चर्चित पात्रहरू अन्ततः राजनीतिक रूपमा सफल नहुने दाबी गर्दै उनले स्थापित दलहरू नै नेपालको वास्तविक शक्ति भएको निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्