काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनस्थलमा उपस्थित भई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै भण्डारीले किसुनजीका अनुयायीका रूपमा देउवालाई घेरा तोडेर कांग्रेस नेतृत्व हस्तान्तरण गर्न आएको घोषणा गर्न आग्रह गरे। उनले पूर्व सभापति गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीच विवाद चर्किएका बेला किसुनजीले कांग्रेसमा कुनै विमति छैन भन्ने सन्देश दिएको घटना स्मरण गरे । भण्डारीले विशेष महाधिवेशनमा अनुपस्थित नेताहरूप्रति व्यङ्ग्य गर्दै लोककथाको उदाहरण दिए। सही विचार र नेतृत्व नहुँदा पार्टी कमजोर हुने भन्दै उनले विचारको ‘इन्जेक्सन’ दिन नसके कांग्रेस चिसो हुने चेतावनी दिए । उनले कांग्रेस र एमालेजस्ता ठूला दल मिलेर सरकार बनाउँदा देशको अवस्था झन् जटिल बनेको टिप्पणी गरे। ६२/६३ मा राजतन्त्र अन्त्यको प्रसङ्ग उल्लेख गर्दै भण्डारीले लोकतन्त्रका नाममा नेतृत्व जोगाउन हेलिकप्टर चढाउनुपर्ने अवस्था विडम्बनापूर्ण भएको बताए। गाउँगाउँबाट आएका महाधिवेशन प्रतिनिधिहरूले सचेतना दिएको भन्दै भण्डारीले देश र पार्टी जोगाउने संकल्प लिने सबैलाई सलाम गरे।





प्रतिक्रिया दिनुहोस्