काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरको सम्मान गर्न भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा सहभागी भएको बताएकी छन्।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै भुसालले ५४ प्रतिशत हस्ताक्षर कांग्रेस केन्द्रीय कार्यालयमा दर्ता भएपछि आफूहरूसहित ३० जना केन्द्रीय सदस्य पार्टीका शीर्ष नेताहरूको घरदैलोमा पुगेर विधान सम्झाउने प्रयास गरेको बताइन्। तर निराश भएर फर्कनु परेको अवस्थापछि प्रतिनिधिको सम्मानस्वरूप महाधिवेशनमा उपस्थित भएको उनको भनाइ थियो। भुसालका अनुसार उनीहरूसहित ३० जना केन्द्रीय सदस्यले कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूसँग भेटेर पार्टी एकता कायम राख्न आग्रह गरेका थिए। उनले पार्टी विधानको धारा १७ (२) अनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै विधानभन्दा बाहिर कोही जान नसक्ने स्पष्ट गरिन्। उनले कांग्रेस अब गुट र कृपाको राजनीतिबाट मुक्त हुनुपर्ने आवश्यकता औंल्याइन्। एकता, संयुक्त साहस र नयाँ सोचका साथ महाधिवेशनपछि गाउँगाउँमा पुग्नुपर्ने उनको भनाइ थियो। भुसालले विशेष महाधिवेशनमा आफूहरूसहित ३० जना केन्द्रीय सदस्य एकसाथ रहने प्रतिबद्धता समेत व्यक्त गरिन्।





प्रतिक्रिया दिनुहोस्