काठमाडौँ – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सहमहामन्त्री तथा पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले हिजो सम्पन्न विशेष महाधिवेशनमा सहभागी भएका व्यक्तिहरू सर्वसाधारण नागरिक नभई १४औँ महाधिवेशनमा सभापतिदेखि सम्पूर्ण केन्द्रीय समिति निर्वाचित गर्ने बहुमत महाधिवेशन प्रतिनिधि भएको बताएका छन् । विशेष महाधिवेशनको आवाजलाई कांग्रेसले संस्थागत रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै चलाउनेले यसलाई परिवर्तनको स्पष्ट आवाजका रूपमा व्याख्या गरे । उनका अनुसार पार्टीका आम नेता–कार्यकर्ताहरूले सभापति शेरबहादुर देउवाको सम्मानजनक विदाइ चाहिरहेका छन् । देउवाले आफू पुनः नेतृत्वमा नआउने भनिसकेकाले अहिलेको परिस्थितिलाई विधिसम्मत ढंगले संस्थागत गर्नुपर्ने उनले बताए । उद्घाटन सत्र सबैको हुन नसकेको भन्दै उनले बन्द सत्र सबैका लागि खुला बनाउन नेतृत्वसँग आग्रह गरे। २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले बोलाएको भेलामा तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई उपस्थित भई पार्टीलाई फुटबाट जोगाएको उदाहरण दिँदै चलाउनेले आज पनि त्यस्तै ऐतिहासिक अवसर बाँकी रहेको उल्लेख गरे । विशेष महाधिवेशनले जति नै राम्रो नीति र संकल्प गरे पनि केन्द्रीय समितिले त्यसलाई नचिने कांग्रेसलाई फुटबाट कसैले जोगाउन नसक्ने चेतावनी दिँदै उनले सम्मान, विधि र अवसरको सदुपयोग गर्न नेतृत्वलाई आग्रह गरे ।





प्रतिक्रिया दिनुहोस्