Skip to content

आगामी चुनाव नलड्ने दिलेन्द्र प्रसाद बडूको घोषणा (पत्र सहित)

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन्। सोमबार सार्वजनिक गरिएको वक्तव्यमार्फत उनले आफू उम्मेदवार नबन्ने स्पष्ट पारेका हुन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले प्रतिनिधिसभा सदस्यका लागि बडूलाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गरे पनि उनले सिफारिसप्रति धन्यवाद दिँदै निर्वाचनमा सहभागी नहुने निर्णय सार्वजनिक गरेका छन् । यसअघि मंसिर २५ र २६ गते बसेको जिल्ला कार्यसमिति बैठकमा समेत बडूले आफू चुनाव लड्ने मनसायमा नरहेको र नयाँ पुस्तालाई अवसर दिन चाहेको धारणा राखेका थिए। उनले सक्षम युवा पुस्ता तथा इच्छुक साथीलाई पालो दिँदै आफू चुनाव नलडेर पूर्ण शक्ति र सक्षमताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बडूले चुनाव नलड्ने सम्बन्धी पत्र पुस २२ गते बुझाएका थिए, जुन पुस २४ गते दर्ता गरिएको थियो। सोमबार उक्त पत्र सार्वजनिक गरिएको हो ।

बडूले सार्वजनिक गरेको पत्रमा भनेका छन् –
‘यहि २०८२ फाल्गुन २१ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी चयनका सन्दर्भमा पार्टीको केन्द्रिय परिपत्र अनुसारको जिल्ला कार्यसमितिको २०८२ मंसिर २५ र २६ गतेको विस्तारित बैठकमा मैले देशको राष्ट्रिय राजनीतिक परिदृश्यमा विकसित पछिल्लो अवस्था, विशेषतः २०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन हुनुका सम्भावित राजनीतिक तथा सामाजिक कारण, यसका सकारात्मक र नकारात्मक पक्षको विस्तृत समीक्षा सहित आफ्नो धारणा र सुझाव राखेको थिए ।

सोही क्रममा पार्टीको समयानुकुल रुपान्तरण र पुस्तान्तरणको विषयमा समेत मेरा यस अघिका प्रतिवद्धता र आन्दोलनको सकारात्मक भावना र मर्म तथा युवाहरुको आकांक्षा एवम् समयको आवाज समेतलाई सम्मान गर्दै आफूले अब उम्मेद्वारीबाट विश्राम लिने तथा पार्टीमा निरन्तर सक्रिय रहेका अन्य इच्छुक एवम् सक्षम नयाँ पुस्ताका साथीहरुलाई उम्मेदवारका लागी तयार रहन मैले आग्रहपूर्वक स्पष्ट प्रस्ताव गरेको यथार्थ पूर्ण समितिमा विदितै छ, अभिलेखित नै छ ।

मेरो उक्त चाहना, स्पष्ट सुझाव र प्रस्तावका बाबजुद विस्तारित वैठकमा उपस्थित सम्पूर्ण शुभेच्छुक साथीहरुले सर्वसम्मत रुपमा मलाई नै एकल उम्मेदवारको रुपमा प्रस्तावित गर्नु भएकोमा म प्रतिको यस सर्वसम्मत समर्थन र सदासयताका लागि आफ्नो पार्टी र पार्टीका सम्पूर्ण साथीहरुमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दै उक्त पदमा उम्मेदवारीका लागि पार्टीमा निरन्तर सक्रियता पूर्वक कार्यरत अन्य सक्षम र उपयुक्त साथीहरु मध्येबाट सुदृढ एकताका साथ सिफारिस गरि पार्टी केन्द्रमा प्रेशित गर्ने व्यवस्थाका लागी आज पुनः अनुरोध गर्दै आफु सो पदका लागि उम्मेदवार हुन नचाहेको विषय समेत औपचारिक रूपमा जानकारी गराउन चाहन्छु । साथै, निर्वाचनमा पार्टी उम्मेदवारलाई विजयी गराउनका लागी आफ्नो पुर्ण शक्ति र क्षमताका साथ सदैव सहकार्यमा आफू सहर्ष सक्रिय रहने आफ्नो तत्परता र प्रतिवद्धता समेत व्यक्त गर्दछु। धन्यवाद, जय नेपाल !’

प्रतिक्रिया दिनुहोस्