Skip to content

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने

काठमाडौं – अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ । ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको हो। विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई प्रभावित देशहरूबाट आउने आप्रवासी भिसा आवेदनहरू तत्काल रोक्न निर्देशन दिएको छ ।

यो निर्णय गत नोभेम्बरमा जारी गरिएको आदेशअनुसार लिइएको हो, जसले अमेरिकी सरकारमाथि आर्थिक भार पर्न सक्ने सम्भावित आप्रवासीहरूका लागि अध्यागमन नियमहरू कडा बनाएको थियो। यसअघि नै करिब ४० देशमाथि लगाइएको अध्यागमन तथा यात्रा प्रतिबन्धकै निरन्तरता भएको मन्त्रालयको भनाइ छ । विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ट्रम्प प्रशासनले अमेरिकी जनताको स्रोतको दुरुपयोग गर्दै अध्यागमन प्रणालीलाई कमजोर बनाउने अभ्यास अन्त्य गर्न चाहन्छ। यी ७५ देशका आप्रवासी भिसा प्रक्रिया तबसम्म स्थगित रहनेछ, जबसम्म अध्यागमन प्रणालीको पुनः मूल्याङ्कन सम्पन्न हुँदैन।’

आगामी जनवरी २१ देखि लागू हुने यो निर्णय गैर–आप्रवासी भिसा (पर्यटक तथा व्यवसायिक) मा भने लागू नहुने जनाइएको छ। अमेरिका सन् २०२६ को विश्वकप र २०२८ को ओलम्पिक आयोजना तथा सह–आयोजना गर्ने भएकाले आगामी वर्षहरूमा गैर–आप्रवासी भिसाको माग उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ । यसैबीच, गैर–आप्रवासी भिसा आवेदकहरूलाई पनि कडा जाँच गरिने भएको छ। सबै अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूलाई पठाइएको सूचनामा आवेदकहरू अमेरिकामा सार्वजनिक सुविधामा निर्भर हुन सक्ने सम्भावनाबारे पूर्ण जाँच गर्न निर्देशन दिइएको छ ।  कन्सुलर अधिकारीहरूले भिसा जारी गर्नुअघि आवेदकको उमेर, स्वास्थ्य, पारिवारिक अवस्था, आर्थिक स्थिति, शिक्षा, सीप, अङ्ग्रेजी दक्षता तथा विगतमा प्रयोग गरिएका सार्वजनिक सहायताका विवरणहरू गहन रूपमा अध्ययन गर्नुपर्नेछ। शंका लागेमा आवेदकलाई आफू सार्वजनिक सहायता नलिने प्रमाण पेश गर्न अतिरिक्त फारम भर्न लगाउन सकिने व्यवस्था गरिएको छ ।

यी हुन् प्रभावित देशहरूको सूची

१. अफगानिस्तान

२. अल्बानिया

३. अल्जेरिया

४. एन्टिगुवा र बारबुडा

५. अर्मेनिया

६. अजरबैजान

७. बहामास

८. बंगलादेश

९. बार्बाडोस

१०. बेलारुस

११. बेलिज

१२. भुटान

१३. बोस्निया

१४. ब्राजिल

१५. बर्मा (म्यानमार)

१६. कम्बोडिया

१७. क्यामरुन

१८. केप भर्डे

१९. कोलम्बिया

२०. कंगो

२१. क्युबा

२२. डोमिनिका

२३. इजिप्ट

२४. एरिट्रिया

२५. इथियोपिया

२६. फिजी

२७. गाम्बिया

२८. जर्जिया

२९. घाना

३०. ग्रेनाडा

३१. ग्वाटेमाला

३२. गिनी

३३. हाइटी

३४. इरान

३५. इराक

३६. आइभोरी कोस्ट

३७. जमैका

३८. जोर्डन

३९. काजाकिस्तान

४०. कोसोभो

४१. कुवेत

४२. किर्गिस्तान

४३. लाओस

४४. लेबनान

४५. लाइबेरिया

४६. लिबिया

४७. म्यासेडोनिया

४८. मोल्डोभा

४९. मंगोलिया

५०. मोन्टेनेग्रो

५१. मोरक्को

५२. नेपाल

५३. निकारागुआ

५४. नाइजेरिया

५५. पाकिस्तान

५६. गणतन्त्र कंगो

५७. रुस

५८. रुवाण्डा

५९. सेन्ट किट्स र नेभिस

६०. सेन्ट लुसिया

६१. सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स

६२. सेनेगल

६३. सियरा लियोन

६४. सोमालिया

६५. दक्षिण सुडान

६६. सुडान

६७. सिरिया

६८. तान्जानिया

६९. थाइल्याण्ड

७०. टोगो

७१. ट्युनिसिया

७२. युगान्डा

७३. उरुग्वे

७४. उज्वेकिस्तान

७५. यमन

प्रतिक्रिया दिनुहोस्