काठमाडौँ – उज्यालो नेपाल पार्टी (उनेपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेहरूका लागि अनलाइन आवेदन खुला गरिसकेको भए पनि केही महत्त्वपूर्ण निर्वाचन क्षेत्रमा अझै योग्य उम्मेदवारको खोजी भइरहेको जनाएको छ । पार्टीका अनुसार अधिकांश क्षेत्रमा संगठन विस्तार भइसकेको छ तर केही जिल्लामा सक्षम र प्रभावशाली उम्मेदवार अभाव देखिएको छ। हाल अध्यक्ष कुलमान घिसिङको गृह जिल्ला रामेछापसहित २४ निर्वाचन क्षेत्रमा उम्मेदवार खोजी जारी छ। अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी कुनै पनि दलसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा अघि बढ्ने स्पष्ट पारेका छन्।
पार्टीका केन्द्रीय सदस्य जीतराम लामाका अनुसार देशभरबाट उल्लेख्य संख्यामा आवेदन परे पनि पार्टीको मापदण्डअनुसारका उम्मेदवार नपुगेका केही क्षेत्रमा छनोट प्रक्रिया जारी छ। प्रदेशगत रूपमा कोशीका ३, मधेसका १, बागमतीका २, गण्डकीका ५, लुम्बिनीका ८, कर्णालीका १ र सुदूरपश्चिमका ५ निर्वाचन क्षेत्रमा उम्मेदवार तय हुन बाँकी छ । उज्यालो नेपाल पार्टीले निष्कलङ्क, विकासप्रेमी र देशलाई नयाँ दिशा दिन सक्ने व्यक्तिहरूलाई उम्मेदवारीका लागि आह्वान गर्दै दुर्गम तथा रणनीतिक क्षेत्रमा विशेष ध्यान दिइरहेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्