काठमाडौँ – भेनेजुएलाकी विपक्षी दलकी नेता मारिया कोरिना मचाडोले आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेकी छन् । बिहीबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भएको भेटका क्रममा मचाडोले नोबेल शान्ति पुरस्कारको पदक उनलाई दिएकी हुन्। मचाडोले पदक हस्तान्तरण गरेको ह्वाइट हाउसका अधिकारीहरूले पुष्टि गरेका छन् । राष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै मचाडोबाट नोबेल शान्ति पुरस्कारको पदक प्राप्त गरेको जानकारी दिएका छन् । “मेरो कामको सम्मानस्वरूप मारियाले आफ्नो नोबेल शान्ति पुरस्कार मलाई प्रदान गर्नुभएको छ। यो पारस्परिक सम्मानको सुन्दर संकेत हो। धन्यवाद मारिया,” ट्रम्पले लेखेका छन् ।
मचाडोले भेटवार्ता अत्यन्त सकारात्मक भएको बताउँदै भेनेजुएली जनताको स्वतन्त्रताप्रति ट्रम्पले देखाएको प्रतिबद्धताको कदरस्वरूप आफूले पाएको पदक हस्तान्तरण गरेको उल्लेख गरेकी छन् । ह्वाइट हाउसका अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले ट्रम्प उक्त पदक आफैं राख्ने तयारीमा रहेको जनाएको छ। तर, नोबेल पुरस्कार प्रदान गर्ने नर्वेजियन नोबेल इन्स्टिच्युटले भने यसअघि नै नोबेल पुरस्कार हस्तान्तरण, बाँडफाँड वा फिर्ता गर्न नमिल्ने स्पष्ट पारिसकेको छ । नर्वेली नोबेल समिति र नर्वेली नोबेल संस्थानका अनुसार, “एक पटक नोबेल पुरस्कार घोषणा भइसकेपछि यसलाई खारेज गर्न, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिँदैन। यो निर्णय अन्तिम हुन्छ र सधैँका लागि कायम रहन्छ ।”
यसको अर्थ मचाडोले पुरस्कारस्वरूप पाएकी सुनको पदक ट्रम्पलाई उपहार दिए पनि नोबेल शान्ति पुरस्कारको औपचारिक सम्मान भने मचाडोकै नाममा कायम रहनेछ । ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको योग्य भएको दाबी गर्दै आएका छन्। दोस्रो कार्यकालमा उनले विभिन्न युद्ध रोकेको दाबी गर्दै उक्त पुरस्कारप्रति आफ्नो उत्कट चाहना पटक–पटक सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्