Skip to content

खड्काको आरोपः तत्कालीन महामन्त्रीहरूले झुट बोले, विशेष महाधिवेशनको औचित्य थिएन

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले झुट बोलेको आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी विखण्डन रोक्न नसकिएको स्वीकार गरे ।

खड्काका अनुसार नियमित महाधिवेशनको तालिका सार्वजनिक भएसँगै विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष तत्कालीन महामन्त्रीद्वयकै बैठकले निकालेको थियो। प्रतिनिधिसभा निर्वाचन प्रक्रिया अघि बढिसकेको र राष्ट्रिय सभाको उम्मेदवारी दर्ता भइसकेको अवस्थामा पार्टीमा गम्भीर अवस्था सिर्जना भएको उनको भनाइ छ । उनले विशेष महाधिवेशनको नाममा अघि बढाइएका गतिविधिले पार्टी विखण्डनतर्फ धकेल्ने र जनताको विश्वास टुट्ने चेतावनी तत्कालीन नेतृत्वलाई दिइएको बताए। आफूले उठाइएका विषयहरू सम्बोधन गर्न सभापतिले छलफलसमेत गरेको र राष्ट्रिय सभाको उम्मेदवारको टिकट तथा प्रतिनिधिसभाको समानुपातिक बन्द सूचीमा आफूले हस्ताक्षर गरेको खड्काले उल्लेख गरे। प्रत्यक्षतर्फको टिकटमा आफूले हस्ताक्षर नगरी पार्टी एकता जोगाउन आग्रह गरिएको उनको दाबी छ । खड्काले पार्टीको वर्तमान अवस्थाका लागि सभापतिलाई दोषारोपण गरिएको प्रति आपत्ति जनाउँदै त्यसका कारणहरू झुटा र गलत भएको बताए। विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार तत्कालीन महामन्त्रीहरूलाई नभएको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्