Skip to content

शिवपुराण महायज्ञका लागि राष्ट्रपतिलाई आमन्त्रण गर्न दार्चुलाको सर्वदलीय प्रतिनिधिमण्डल शीतल निवासमा

काठमाडौं – दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित, देशका सात धाममध्ये एक धामका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मालिकार्जुन मन्दिरमा आयोजना हुने शिवपुराण ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवका लागि प्रमुख अतिथि आमन्त्रण गर्न दार्चुलाको सर्वदलीय तथा सर्वपक्षीय प्रतिनिधिमण्डल राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवास पुगेको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू को नेतृत्वमा शीतल निवास पुगेको प्रतिनिधिमण्डलले महायज्ञ तथा महोत्सवको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वबारे जानकारी गराउँदै राष्ट्रपतिलाई प्रमुख अतिथिका रूपमा उपस्थितिका लागि औपचारिक आमन्त्रण गरेको हो । प्रतिनिधिमण्डलमा पूर्वमन्त्री एवं कांग्रेस नेता गणेश सिंह ठगुन्ना, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं प्रदेश सांसद मानबहादुर धामी, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, कांग्रेस नेता जगदिश बहादुर पाल, कांग्रेस नेता तथा आयोजक समितिका सह–संयोजक नरेन्द्र धामी, सह–संयोजक किसनसिंह सामन्त लगायत सहभागी थिए ।

मालिकार्जुन धाममा हुने शिवपुराण ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवबारे काठमाडौँमा अन्तरक्रिया

यसअघि, सोहि बिषयमा बिहीबार काठमाडौँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । धार्मिक आस्था, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महायज्ञबारे जानकारी गराउने उद्देश्यले आयोजित अन्तरक्रियामा विभिन्न राजनीतिक दलका नेता, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडू, पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गणेश सिंह ठगुन्ना, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं प्रदेश सांसद मानबहादुर धामी, नेपाल सरकारका सचिव डा. राजेन्द्र प्रसाद मिश्र, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, समाजसेवी धर्मानन्द जोशी, कांग्रेस नेता जगदीशबहादुर पाल लगायतले मन्तव्य राख्दै महायज्ञको सफलताका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्