काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताबद्ध भएर अघि बढ्न सबै नेता–कार्यकर्ता र शुभेच्छुकलाई हार्दिक अपील गरेका छन् । विशेष महाधिवेशनपछि जारी प्रेस विज्ञप्तिमार्फत थापाले नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको स्पष्ट पारेका हुन् । उनले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको उल्लेख गर्दै निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार निर्णय गरेकोप्रति आभार व्यक्त गरे। “यो नेपाली कांग्रेसका सदस्य र शुभेच्छुकले पार्टीमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो,” विज्ञप्तिमा भनिएको छ ।
थापाले पार्टी अब नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्ने र बन्ने स्थापित भएको दाबी गरे। “नेपाली कांग्रेस आफ्नो मूल जरामा, मूल्य–मान्यता र आदर्शमा फर्किएको छ,” उनले भने । विशेष महाधिवेशनमा सहभागी भए–नभएका, सहमत भए–नभएका सबैलाई संयमित, जिम्मेवार र एकताबद्ध रहन आग्रह गर्दै थापाले यो जय–पराजयको विषय नभई विधि–विधानको प्रधानता भएको प्रक्रिया भएको बताए। उनका अनुसार कांग्रेस अब नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अघि बढिसकेको छ र रिफर्मको यात्रा सुरु भइसकेको छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै उनले उच्च आत्मविश्वास र व्यापक तयारीका साथ एकढिक्का भएर लाग्नुपर्ने आवश्यकता औंल्याए। यस क्रममा पार्टीका पूर्व सभापति शेरबहादुर देउवा लगायत सबै तहका नेताहरूले लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिएर पूर्ण साथ दिने विश्वास पनि व्यक्त गरे । “आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन,” थापाले स्पष्ट पारे। जिम्मेवारी फरक भए पनि भुइँतहका सदस्यदेखि केन्द्रीय सभापतिसम्म सबैको समान हैसियत रहने र सदस्यहरूको चाहना नै निर्णयको आधार हुने उनको भनाइ छ । कांग्रेस आम मानिसको सार्वजनिक पुँजी भएको उल्लेख गर्दै थापाले देशभित्र र विदेशमा रहेका शुभेच्छुकलाई पार्टी परिवर्तनको यात्रामा साथ दिन आग्रह गरे। उनले विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै उपलब्धिलाई समयअनुसार संस्थागत गर्ने संकल्प दोहोर्याए । “कांग्रेस अब मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता गर्ने छैन, सत्ताका लागि अप्राकृतिक गठबन्धन गर्ने अभ्यास अन्त्य हुनेछ,” थापाले भने। संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व कांग्रेसले गर्ने उनको दाबी छ । अन्त्यमा उनले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका अग्रजप्रति सम्मान प्रकट गरे र समुन्नत नेपाल निर्माणको यात्रामा सहभागी हुन सम्पूर्ण नेपाली जनसमुदायलाई पुनः हार्दिक अपील गरे ।





प्रतिक्रिया दिनुहोस्