काठमाडौं – आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको हो । विश्वकपअघि श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने कार्यक्रम रहेकाले नेपाली टोलीलाई शनिबार नै बिदाइ गरिएको क्यानले जनाएको छ। टोली आइतबार गन्तव्यतर्फ प्रस्थान गर्ने छ । बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली टोलीले विश्वकपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा राम्रो पहिचान बनाउँदै गएको उल्लेख गर्दै खेलाडी र व्यवस्थापन टिमलाई शुभकामना दिए। भारतमा हुने खेलमा नेपाली समर्थकको साथ रहने अपेक्षा पनि उनले व्यक्त गरे । टोलीका कप्तान रोहित पौडेलले विश्वकपका लागि तयारी सन्तोषजनक रहेको बताए । अभ्यासका क्रममा राम्रो बिल्डअप भएको अनुभूति भएको उल्लेख गर्दै उनले अघिल्लो वर्ष नेपाली क्रिकेटका लागि सफल भएको र यस वर्ष पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताए। उनले विश्वकपमा समग्र नेपालीलाई गर्व महसुस गराउने प्रतिबद्धता व्यक्त गरे ।
प्रशिक्षक स्टुअर्ट लले पनि अभ्यास खेलमार्फत योजनालाई अन्तिम रूप दिइने र विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। टोलीले अनुशासित र योजनाबद्ध खेल प्रस्तुत गरेर नेपाली समर्थकलाई खुसी दिने उनले बताए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीको तयारी राम्रो देखिएको भन्दै कुनै शंका नरहेको बताए। भारतको कन्डिसन नेपाली खेलाडीका लागि अनुकूल हुने उल्लेख गर्दै उनले विश्वकपमा राम्रो नतिजाको अपेक्षा व्यक्त गरे । विश्वकपको समूह चरणमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ। त्यसअघि नेपाली टोलीले श्रीलंकामा श्रीलंका ‘ए’ टोलीसँग तथा भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्ने छ । रोहित पौडेलको कप्तानीमा विश्वकपका लागि नेपाली टोली यसअघि नै घोषणा भइसकेको छ ।





प्रतिक्रिया दिनुहोस्