काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले दार्चुला जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि धर्मानन्द जोशीलाई उम्मेदवार बनाएका छन्। प्रतिनिधिसभाको फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि सभापति थापाले जोशीलाई पार्टीको टिकट दिएका हुन् । टिकट प्राप्त भएपछि जोशीले सभापति थापाबाट आफूलाई उम्मेदवार बनाइएको जानकारी प्राप्त भएको र काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र दार्चुलातर्फ प्रस्थान गरिरहेको बताएका छन्। उनले पार्टीले दिएको जिम्मेवारीलाई सम्मानपूर्वक स्वीकार गर्दै जनतामाझ जाने तयारीमा रहेको बताए । यसअघि कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभा सदस्यको निर्वाचन नलड्ने घोषणा गरेपछि जिल्लाबाट चार जनाको नाम पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको थियो। जिल्ला कार्यसमितिले मंसिर अन्तिम साता बडुको एकल नाम सिफारिस गरेको भए पनि उनले गत पुस २२ गते चुनाव नलड्ने घोषणा गरेका थिए ।
आइतबार कांग्रेस जिल्ला सभापति ललितसिंह बोहराका अनुसार धर्मानन्द जोशीसहित मालिकार्जुन गाउँपालिकाका पूर्व अध्यक्ष नरेन्द्रसिंह धामी, नेविसंघका पूर्व अध्यक्ष गणेशराज भट्ट र पार्टीका पूर्व जिल्ला सचिव हरकसिंह बिष्टको नाम सिफारिस गरिएको थियो। तीमध्ये सभापति थापाले जोशीलाई अन्तिम उम्मेदवारका रूपमा चयन गरेका हुन् । संयुक्त राष्ट्रसंघ अन्तर्गतका विभिन्न निकायमा लामो समय काम गरेको अनुभव संगालेका जोशीलाई कांग्रेसले दार्चुलाको प्रतिनिधिसभा उम्मेदवार बनाएको हो। जोशीका अनुसार उनले संयुक्त राष्ट्रसंघका विभिन्न राजनीतिक मिसन, मानवअधिकार, कानुन तथा द्वन्द्व व्यवस्थापनसम्बन्धी कार्यमा भूमिका निर्वाह गरेका छन्। निर्वाचन लड्नका लागि आफूले संयुक्त राष्ट्रसंघबाट राजीनामा दिएको पनि उनले बताए ।
जोशीले निर्वाचन जितेपछि दार्चुला निर्वाचन क्षेत्रको समग्र विकाससँगै मुलुकमा आवश्यक कानुन निर्माण, सुशासन र लोकतान्त्रिक मूल्य सुदृढीकरणमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफ्नो उम्मेदवारीलाई विकास, सुशासन र जनताको सेवासँग जोडेर अघि बढाउने बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्