Skip to content

दार्चुलामा काँग्रेसको तर्फबाट मनोनयन गराएका धर्मानन्द जोशी को हुन् ?

दार्चुला – नेपाली काँग्रेसका नेता धर्मानन्द जोशीले दार्चुलाबाट उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेस जिल्ला सभापति समेत रहेका काँग्रेस दार्चुलाका नेता ललित बोहराको प्रस्ताव र अमरसिंह धामीको समर्थनमा जोशीले उम्मेदवारी दर्ता गराएका हुन् ।  नेपाली कांग्रेसका सभापति गगन थापाले दार्चुला जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि जोशीलाई उम्मेदवार बनाएका थिए ।

को हुन् उम्मेदवार जोशी ? 

शैल्यशिखर नगरपालिका वडा नं. ८ पपरथला निवासी समाजसेवी तथा अधिवक्ता  धर्मानन्द जोशीले कानून विषयमा स्नातकोत्तर (LLM) अध्ययन पूरा गर्नुभएको छ । सामान्य परिवारमा जन्मिएर निरन्तर मेहनत, लगनशीलता र अनुशासनका बलमा अन्तर्राष्ट्रिय तहसम्म आफ्नो पहिचान बनाउन सफल जोशी संयुक्त राष्ट्र संघ (UN) मा कार्यरत हुनुहुन्थ्यो । वि.सं. २०३२ सालमा शैल्यशिखर नगरपालिका वडा नं. ८ पपरथलामा बुवा स्व. विष्णुदत्त जोशी र आमा तुलसीदेवी जोशीको कोखबाट जन्मिनुभएका जोशीसँग कानून, राजनीति, मानव अधिकार तथा द्वन्द्व व्यवस्थापनका क्षेत्रमा संयुक्त राष्ट्र संघमा करिब १५ वर्षभन्दा बढीको कार्यअनुभव छ ।

समाज सेवामा विशेष योगदान पुर्‍याउँदै आउनुभएका जोशीले वि.सं. २०७९ मा व्यक्तिगत रूपमा रु. २२ लाखको ‘मातृभूमी छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नुभएको छ । उक्त कोष अन्तर्गत दार्चुलाका दुई विद्यालय, लेकम गाउँपालिका स्थित हुनैनाथ माध्यमिक विद्यालय रातामाता र शैल्यशिखर नगरपालिका–८ स्थित गलैनाथ माध्यमिक विद्यालय झरकडामा जनही रु. ११ लाखको अक्षयकोष स्थापना गरिएको छ । यस कोषबाट प्राप्त ब्याज रकममार्फत प्रत्येक विद्यालयका ५/५ जना विद्यार्थीलाई छात्रवृत्ति तथा ३/३ जना उत्कृष्ट शिक्षक–शिक्षिकालाई सम्मान प्रदान गरिँदै आएको छ । ‘मातृभूमी छात्रवृत्ति अक्षयकोष’ को रकम भविष्यमा अझै थपिँदै जाने विश्वास जोशीले व्यक्त गर्नुभएको छ । शिक्षा नै समाज निर्माणको बलियो आधार भएको उल्लेख गर्दै जोशीले शिक्षामा लगानी बढाउन र विद्यार्थीलाई थप हौसला प्रदान गर्न सबै सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताउँदै आउनुभएको छ । यसका साथै उहाँले विभिन्न समस्यामा परेका नागरिकहरूलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आउनुभएको छ । स्वास्थ्य क्षेत्रमा पनि जोशीको योगदान उल्लेखनीय रहेको छ । उहाँले मालिकार्जुन गाउँपालिकाका संघ–संस्थामार्फत १६ थानभन्दा बढी स्ट्रेचर दान गर्नुभएको थियो । त्यस्तै, वि.सं. २०७८ श्रावण १६ गते व्याँस गाउँपालिका–२ राप्लाको मालघाटमा तुइन तर्ने क्रममा ज्यान गुमाएका स्थानीय युवा स्व. जयसिंह धामीको परिवारलाई राहत मिलोस् भन्ने उद्देश्यले संयुक्त राष्ट्र संघमा कार्यरत इच्छुक नेपाली नागरिकहरूबाट संकलित रु. १ लाख ५० हजार सहयोग रकमको संयोजन पनि जोशीले गर्नुभएको थियो । उक्त सहयोग उहाँले आफ्नै तलबबाट बचत गरी व्यवस्थापन गर्नुभएको हो । धार्मिक तथा सांस्कृतिक क्षेत्रमा समेत योगदान पुर्‍याउँदै जोशीको संयुक्त परिवारले शैल्यशिखर नगरपालिका–८ स्थित गलैनाथ मन्दिर निर्माणका लागि करिब रु. १४ लाख बराबरको सहयोग गरेको छ । स्व. विष्णुदत्त जोशी, स्व. विजयराज जोशी र श्री मनोरथ जोशीका महेन्द्रनगर, काठमाडौं, बेलायत र अमेरिका बसोबास गर्ने छोराछोरीहरूले संयुक्त रूपमा उक्त रकम मन्दिरलाई दान गरेका हुन् ।

जोशीको परिवारको इतिहास पनि शैक्षिक सेवासँग जोडिएको छ । वि.सं. २०४५ सालमा उहाँका बुवा स्व. विष्णुदत्त जोशीले पपरथलामा जग्गा दान गरी श्री मसिना आधारभूत विद्यालयको स्थापना गर्नुभएको थियो । शिक्षित, मेहनती, स्वच्छ छवि र सुशासन पक्षपाती समाजसेवीको रूपमा परिचित धर्मानन्द जोशी दार्चुला जिल्लाका लागि मात्र नभई समग्र समाजका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्