Skip to content

विवादपछि कांग्रेस कार्यसमिति सानेपा प्रवेश गर्दै, गगन थापालाई प्रधानमन्त्री उम्मेदवार बनाउने तयारी

 

काठमाडौँ – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । महामन्त्री प्रदीप पौडेलले शुक्रबार दिउँसो १ बजे सानेपा जाने जानकारी दिएका छन् ।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । सभापति निर्वाचित भए पनि थापाले पहिलो र दोस्रो केन्द्रीय कार्यसमितिको बैठक होटलमै गरेका थिए । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठकसमेत होटलमै बसेको थियो । थापा नेतृत्वको कार्यसमिति अहिलेसम्म पार्टी केन्द्रीय कार्यालय नपुगेको भन्दै आलोचना भइरहेका बेला शुक्रबार पहिलोपटक केन्द्रीय कार्यालयमै केन्द्रीय समितिको बैठक बस्न लागेको हो । पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा औपचारिक घोषणा गर्ने तयारी छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अन्य दलहरूले पनि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका छन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई अघि सारेको छ ।

कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरूले विशेष महाधिवेशन आह्वान गरेपछि निवर्तमान सभापति शेरबहादुर देउवासहितको समूहले असहमति जनाएको थियो । देउवा समूहका नेताहरूले विशेष महाधिवेशन अस्वीकार गरेको बताएका भए पनि गगन थापाकै हस्ताक्षर रहेको टिकट लिएर उम्मेदवारी दर्ता गराएका छन् । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ । विशेष महाधिवेशनपछि देउवा समूहका केही केन्द्रीय सदस्य तथा तरुण दलका नेताहरूले केन्द्रीय कार्यालयमा अरूलाई प्रवेश नदिने भन्दै त्यहीँ बसेका थिए । अहिले भने उनीहरूले केन्द्रीय कार्यालय छोडिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्