काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले कांग्रेस सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने तयारी भएको नेताहरूले बताएका छन् ।
उपसभापति पुष्पा भुसालका अनुसार सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई होमिन बैठक बोलाइएको हो । उनका अनुसार सभापति थापासहित नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक सुरु हुनेछ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू आज पहिलो पटक केन्द्रीय कार्यालय सानेपामा उपस्थित हुँदैछन् । बैठकमा सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै निर्वाचनमा जाने निर्णय, निर्वाचन अभियानसँग सम्बन्धित विभिन्न समिति गठन तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने नेताहरूले जानकारी दिएका छन् । केन्द्रीय समिति बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम रहेको छ । अघिल्लो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार बनेका छन् । उनले माघ ६ गते वारेसमार्फत् उम्मेदवारी दर्ता गराइसकेका छन् ।





प्रतिक्रिया दिनुहोस्