Skip to content

काँग्रेस सभापति थापा भोलि सर्लाही जाने

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका पार्टी सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएको क्षेत्र सर्लाही–४ मा उनी उम्मेदवारको रूपमा पहिलो पटक जिल्ला भ्रमण गर्न लागेका हुन् । यसअघि पटक–पटक राजनीतिक कार्यक्रमका लागि सर्लाही पुगेका थापा यसपटक भने प्रत्यक्ष रूपमा निर्वाचन अभियानका लागि त्यहाँ जान लागेका हुन् । शनिबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा सभापति थापाले भोलि जिल्ला जाने जानकारी दिएका थिए । उनले सर्लाही–४ का युवामाथि भरोसा गरेर आफूले जीवनकै महत्वपूर्ण राजनीतिक निर्णय लिएको उल्लेख गर्दै आगामी निर्वाचनमा सक्रिय सहयोग गर्न आग्रह गरेका छन् । उनले युवाहरूलाई निर्वाचनको समयमा सर्लाही पुगेर घर–घरमा गएर अभिभावक र मतदातालाई भेट्न तथा आफूलाई विश्वासका साथ प्रतिनिधिसभा सदस्य बनाउने अभियानमा जुट्न अनुरोध गरेका छन् ।

यसैबीच, शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै निर्वाचनमा जाने निर्णय गरेको थियो । उपसभापति विश्वप्रकाश शर्माले अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा पेश गरेको प्रस्ताव बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्