Skip to content

प्रधानमन्त्रीका उम्मेदवारबीच खुला बहसका लागि ओली तयार

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच प्रत्यक्ष प्रसारण हुने गरी सार्वजनिक बहस गर्न आफू तयार रहेको बताएका छन् । प्रधानमन्त्रीका उम्मेदवारहरूले खुला बहस गर्नुपर्छ भन्ने माग बढिरहेका बेला शनिबार च्यासलमा पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । पत्रकारले सार्वजनिक संवादका लागि तयार हुनुहुन्छ भन्ने प्रश्न गरेपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीको उम्मेदवार दाबी गर्नेहरूबीच संवाद र खुला बहस आवश्यक रहेको बताए । उनका अनुसार प्रधानमन्त्री किन बन्ने, के उद्देश्यका लागि बन्ने र देशका लागि के योजना छन् भन्ने विषयमा जनतासामु छलफल हुनुपर्छ । त्यसपछि पुनः सोधिएको प्रश्नमा उनले बहसका लागि आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे ।

यसअघि नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावमा जाने निर्णय गरेको थियो। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी एकता गरेको जनाएको छ । उता, नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तीन ठूला दलले आ–आफ्ना प्रधानमन्त्रीका उम्मेदवार सार्वजनिक गरेसँगै उनीहरूलाई एउटै मञ्चमा राखेर प्रत्यक्ष सार्वजनिक बहस गराउनुपर्ने आवाज तीव्र बन्दै गएको छ । यही सन्दर्भमा अध्यक्ष ओलीले गगन थापा र बालेन शाहसँग खुला बहसका लागि आफू तयार रहेको संकेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्