काठमाडौं – पश्चिमी निम्न चापीय प्रणाली सक्रिय भएसँगै सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका विभिन्न जिल्लामा हिउँ र वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले जनाएका छन् । मौसममा आएको यस परिवर्तनले दैनिक जनजीवन प्रभावित हुन सक्ने, चिसो बढ्न सक्ने तथा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउँदै मौसमको अध्यावधिक जानकारी लिएर मात्र योजना बनाउन सुझाव दिइएको छ । मौसमविद् सन्जिव अधिकारीका अनुसार माघ १३ गते मंगलबार दिउँसोदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिउँ वा वर्षा हुनसक्ने देखिएको छ । ती प्रदेशका पहाडी तथा तराई भूभागमा भने हल्का वर्षाको सम्भावना छ । राति उक्त प्रणाली थप पूर्वतर्फ सर्दै जाने र सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यम खालको हिउँ वा वर्षा हुने अनुमान गरिएको छ । यी क्षेत्रका एक–दुई स्थानमा भारी हिमपातसमेत हुन सक्ने सम्भावना रहेको बताइएको छ ।बागमती र कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम खालको वर्षा र तराई क्षेत्रमा हल्का वर्षा हुने देखिन्छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । काठमाडौं उपत्यकाको हकमा बुधबार हल्का वर्षा हुने सम्भावना रहेको छ । बुधबार दिउँसोतिर बादलको मात्रा बढ्ने र सामान्य वर्षा पर्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकाका आसपासका क्षेत्रमा हिमपातको सम्भावना कम भए पनि उपत्यकाभन्दा माथिल्ला भूभाग र कोशी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।मौसमविद्हरूका अनुसार बुधबार रातिदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने र बिहीबारदेखि अधिकांश स्थानमा मौसम सफा हुने प्रक्षेपण गरिएको छ ।
यसअघि अघिल्लो साता पनि पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशका विभिन्न जिल्लामा हिउँ र वर्षा भएको थियो । यसपटकको प्रणाली अघिल्लो पटकको तुलनामा केही शक्तिशाली रहेकाले यसको प्रभाव क्षेत्र फराकिलो हुने र वर्षा तथा हिमपातको मात्रा पनि बढी हुनसक्ने अनुमान गरिएको छ । यसले वायु प्रदूषण केही घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँद अपेक्षाकृत सुक्खा हुने प्रक्षेपण यसअघि नै सार्वजनिक गरेको थियो । अघिल्लो साता परेको पानी यस हिउँदको पहिलो वर्षा भएकाले सो प्रक्षेपण मिल्दोजुल्दो देखिएको छ । पछिल्ला वर्षहरूमा हिउँदमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कम हुँदै गएकाले हिउँदे झरीको आवृत्ति घट्दै गएको मौसमविदहरूको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्