काठमाडौं – नेपालका विभिन्न स्थानमा पानी र हिउँ पार्ने गरी सक्रिय पश्चिमी न्यूनचापीय प्रणाली बुधबार रातिदेखि देशबाट बाहिरिएको छ । मंगलबार साँझदेखि सक्रिय यो प्रणालीले सुदूरपश्चिमदेखि कोशी प्रदेशका पहाडी जिल्लासम्म हल्कादेखि मध्यम खालको वर्षा गराएको थियो भने उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि भारीसम्म हिमपात भएको थियो ।
हिउँदे वर्षाका कारण चिसो बढेर जनजीवन प्रभावित भए पनि यसले कृषि बालीलाई फाइदा पुग्ने कृषि क्षेत्रका विज्ञहरूले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएकाले आजदेखि देशका अधिकांश ठाउँमा मौसम सुधार हुने र घाम लाग्ने सम्भावना छ । तर कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा भने अझै हल्का हिमपात र वर्षा हुन सक्ने उनले जानकारी दिए ।
पश्चिममा बढी वर्षा, काठमाडौंमा पहिलो हिउँदे पानी
जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको प्रभाव सुदूरपश्चिम प्रदेशमा बढी देखिएको थियो र पूर्वतर्फ जाँदा क्रमशः कमजोर बन्दै गएको थियो । त्यसैले वर्षा पनि पश्चिम नेपालमै बढी रेकर्ड भएको विभागले जनाएको छ ।
बुधबार साँझ काठमाडौं उपत्यकामा समेत हल्का वर्षा भएको थियो । यो काठमाडौंका लागि यस वर्षको पहिलो हिउँदे वर्षा हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । त्यसपछि रुकुमको सेरागाउँमा ३८ मिलिमिटर पानी परेको छ ।
यसैगरी बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, जाजरकोटमा ३३, मनाङमा ३२.४, डोल्पामा ३१ र बाजुरामा ३०.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
काठमाडौं उपत्यकामा ललितपुर र भक्तपुरमा सबैभन्दा बढी ४.८ मिलिमिटर वर्षा भएको छ भने काठमाडौंमा २.२ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्