काठमाडौँ – पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीलाई भारी मतले विजयी गराउन दार्चुलावासी मतदातासँग अपील गरेका छन् । फागुन २१ गते विशेष परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सामान्य आवधिक निर्वाचन नभएको उल्लेख गर्दै बडूले यसलाई जेन–जी युवा पुस्ताको भावनाअनुसार नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रण गरेका छन् । आफू सक्रिय चुनावी राजनीतिबाट स्वेच्छाले विश्राम लिँदै पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति लगाउने पूर्वघोषणा अनुसार नै क्रियाशील रहेको स्पष्ट पार्दै बडूले विशेष महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वको निर्णयप्रति पूर्ण समर्थन जनाएका छन् । उनले दार्चुलाबाट नेपाली कांग्रेसको उम्मेदवारका रूपमा चयन भएका धर्मानन्द जोशीलाई शैक्षिक योग्यता, क्षमता, अनुभव र अन्तर्राष्ट्रिय संस्थामा गरेको कार्यअनुभवका आधारमा समयको मागअनुसारको योग्य र गर्व गर्नलायक युवा नेतृत्वको रूपमा प्रस्तुत गरेका छन् । शैल्यशिखर नगरपालिका–८ पपडथला, बोहरीगाउँका मध्यमवर्गीय परिवारमा हुर्किएका जोशी मेधावी, मेहनती र आत्मनिर्भर व्यक्तित्व भएको बडूको भनाइ छ । उम्मेदवार चयन प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेको भन्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, संसदीय बोर्ड तथा जिल्ला तहका नेताहरूलाई पनि बडूले धन्यवाद दिएका छन् । उम्मेदवार नयाँ भेगका मतदाताका लागि अपरिचित देखिनु स्वाभाविक भए पनि दलीय व्यवस्थामा पार्टी संरचनामार्फत नै उम्मेदवारको परिचय र पहुँच विस्तार हुने यथार्थलाई सबैले बुझ्नुपर्ने उनले बताएका छन् ।
समग्रमा, धर्मानन्द जोशी संघीय संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने क्षमतायुक्त उम्मेदवार भएको र प्रारम्भिक जनप्रतिक्रिया पनि सकारात्मक देखिएको बडूको दाबी छ । उनले ऐतिहासिक परिवर्तनको संवाहक पार्टी नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गरी धर्मानन्द जोशीलाई विजयी गराउन विशेषगरी दार्चुलाका युवा, बुद्धिजीवी तथा सम्पूर्ण चेतनशील मतदातासँग हार्दिक आह्वान गरेका छन् । “युवाहरूको आन्दोलनको मर्म व्यवहारबाट मात्रै साकार हुन्छ,” भन्दै बडूले कांग्रेसको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।





प्रतिक्रिया दिनुहोस्