काठमाडौँ – आसन्न प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा व्यवस्था, आचारसंहिताका परिपालना लगायतका विषयमा गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीहरुबिच छलफल भएको छ । फाल्गुन २१ मा हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ निष्पक्ष भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता उल्लङ्घघन लगायतका अवाञ्छित गतिविधिलाई निस्तेज गर्ने विषयमा छलफल केन्द्रित भएको हो । छलफलको क्रममा आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन लक्षित शान्ति सुरक्षा व्यवस्थापन, आचारसंहिता परिपालना सम्बन्धमा गर्नुपर्ने अनुगमन लगायतको विषयमा चासो व्यक्त गरेका थिए । जवाफमा मन्त्री अर्यालले निर्वाचनका लागि सुदृढ शान्ति व्यवस्था मिलाईएको र दण्डहीनता सह्य नहुने भन्दै आचारसंहिता परिपालनाको अनुगमनमा मन्त्रालय अन्तर्गतका निकायहरुलाई पूर्ण रुपमा परिचालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
छलफलमा गृह मन्त्रालयको तर्फबाट मन्त्री अर्यालसँगै गृह सचिव, मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख लगायतका पदाधिकारीको उपस्थिती रहेको थियो भने आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु, आयोगका सचिव लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो।





प्रतिक्रिया दिनुहोस्