काठमाडौँ – नेपाली कांग्रेस दार्चुला काठमाडौँ सम्पर्क समिति तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) दार्चुला काठमाडौँ सम्पर्क समितिले फागुन २१ गते हुन गइरहेको आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै चुनाव केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । शनिबार राजधानी काठमाडौँमा सम्पन्न उक्त कार्यक्रम नेपाली कांग्रेस दार्चुला काठमाडौँ सम्पर्क समितिका अध्यक्ष केशर सिंह भण्डारीको अध्यक्षतामा तथा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू गणेश भट्ट, नरेन्द्र सिंह धामी, शम्भू जोशी, नेपाली कांग्रेस दार्चुला जिल्ला समिति सचिव पुलेन्द्र कार्की, कांग्रेस नेता जगदिश पाल, क्षेत्रीय सभापति केशब बहादुर सिंहलगायत नेविसंघका पदाधिकारी तथा सदस्यहरू र विभिन्न तहमा क्रियाशील युवा नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । छलफल तथा अन्तरक्रिया कार्यक्रममा बदलिँदो राजनीतिक परिवेशअनुसार नेपाली कांग्रेसले आफूलाई समयसापेक्ष रूपमा रूपान्तरण गर्दै उम्मेदवार छनोटमा नयाँ सोच र पुस्तान्तरणलाई प्राथमिकता दिएको विषयमा गहन छलफल गरिएको थियो। सहभागीहरूले दार्चुलाबाट योग्य, सक्षम र देश विकासका लागि आवश्यक नेतृत्व दिन सक्ने व्यक्तित्वका रूपमा अधिवक्ता पृष्ठभूमि भएका तथा संयुक्त राष्ट्रसंघ (UN) अन्तर्गत मानव द्वन्द्व व्यवस्थापन र मानव अधिकारको क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव हासिल गरेका नेता धर्मानन्द जोशीको उम्मेदवारी पार्टीका लागि मात्र नभई सम्पूर्ण दार्चुलाबासीका लागि गर्वको विषय भएको निष्कर्ष निकालेका थिए । कार्यक्रममा सहभागी सबै नेता तथा प्रतिनिधिहरूले उम्मेदवारको जित सुनिश्चित गर्न पार्टीभित्र एकता, सहकार्य र सामूहिक प्रतिबद्धता अपरिहार्य रहेकोमा जोड दिएका थिए। दार्चुलाका जनताले अन्तर्राष्ट्रिय अनुभव बोकेको सक्षम नेतृत्वलाई जिताउने विश्वाससमेत व्यक्त गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दिलेन्द्र प्रसाद बडूले सम्बोधन गर्दै देशको वर्तमान आवश्यकता नेपाली कांग्रेस नै भएको स्पष्ट पारे । उनले जेन–जी पुस्ताको चाहना, भावना र अपेक्षालाई सम्बोधन गर्दै पार्टीले उम्मेदवार चयन गरेर अघि बढेको उल्लेख गरे । स्पष्ट एजेन्डा र नीतिविनै आएका नयाँ पार्टीहरूले देशको हितमा ठोस काम गर्न नसक्ने भन्दै पुस्तान्तरण र रूपान्तरणको अभियानसहित अघि बढेको नेपाली कांग्रेसले मात्र देशलाई सही दिशामा लैजान सक्ने उनको दाबी थियो । उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन सम्पूर्ण कार्यकर्ता, समर्थक तथा दार्चुलाबासीलाई एकताबद्ध भएर लाग्न अपिल गरे । कार्यक्रमको सञ्चालन तथा उद्घोष नेपाली कांग्रेस दार्चुला काठमाडौँ सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष विष्णुसिंह बोहराले गरेका थिए । कार्यक्रम कांग्रेसलाई विजयी गराउने साझा प्रतिबद्धतासहित सम्पन्न भएको आयोजकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्