काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेताहरूलाई जिल्ला तथा प्रदेश तोकेर जिम्मेवारी दिएका छन् । जिम्मेवारी पाउनेमा गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पनि परेका छन्। तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहले स्वीकार नगरेका थिए। सो विषयमा उनीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट हाल विचाराधीन छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि सभापति थापाले देउवा र डा. कोइराला समूहका केही नेतालाई उम्मेदवारको टिकट दिएका थिए। तर त्यसबाट पनि असन्तुष्ट रहेका दुवै समूहका केही नेतालाई उपसभापति शर्माले केन्द्रीय निर्वाचन परिचालन समितिको तर्फबाट जिल्ला तथा प्रदेशस्तरीय जिम्मेवारी दिएका हुन् । शर्माले जिम्मेवारी समेटेकामा देउवा नेतृत्वको कार्यसमितिमा रहेका सहमहामन्त्री भीष्मराज आङ्देम्बे तथा केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, उमेशजंग रायमाझी, जीपछिरिङ लामा, उर्मिला थपलिया, दिलमान पाख्रिन, धना खतिवडा, गेहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, चन्द्रबहादुर केसी, रुपा बिक, रंगमती शाही, मानबहादुर नेपाली, कान्तिक सेजुवाल, विद्यादेवी तिमिल्सिना, डा. रणबहादुर रावल र नृप वड रहेका छन् । जिम्मेवारी अनुसार आङ्देम्बे, विश्वकर्मा र रायमाझीलाई कोशी प्रदेश, थपलिया, लामा, नेपाली, पाख्रिन र खतिवडालाई बागमती प्रदेश, गिरी, घिमिरे, केसी र बिकलाई लुम्बिनी प्रदेश, शाही, नेपाली र सेजुवाललाई कर्णाली प्रदेश तथा तिमिल्सिना, रावल र वडलाई सुदूरपश्चिम प्रदेशको निर्वाचन परिचालनको जिम्मेवारी दिइएको छ । पार्टी नेतृत्वले आगामी निर्वाचनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सबै धारका नेताहरूलाई समेट्दै जिम्मेवारी बाँडफाँड गरिएको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्