काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजबाट नेपाली सेना परिचालन गरिएको छ। एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत देशभर ७९ हजार ७२७ जना सेना फिल्डमा खटाइएको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेना तेस्रो घेरामा रही निर्वाचन अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ती तथा सुरक्षा ड्युटीमा रहनेछ । संवेदनशील क्षेत्र र मतदानस्थलमा संयुक्त गस्ती पनि गरिनेछ । निर्वाचन अवधिमा सेनाले हवाई गस्तीसमेत गर्नेछ। सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरीमा हेलिकप्टर स्टान्डबाइ राखिएको छ। विकट तथा अतिसंवेदनशील क्षेत्रमा मतपेटिका ढुवानीका लागि पनि हेलिकप्टर प्रयोग गरिनेछ । यस्तै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै बम डिस्पोजल टोली अति संवेदनशील क्षेत्रमा अलर्टमा राखिएको छ। निर्वाचनका बेला महत्वपूर्ण प्रतिष्ठान, विमानस्थल र कारागारको सुरक्षा जिम्मा पनि नेपाली सेनाले सम्हाल्नेछ ।





प्रतिक्रिया दिनुहोस्