Skip to content

बदलिएको कांग्रेसले देश बदल्छ : सभापति गगन थापा

 

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बदलिएको नेपाली कांग्रेसले देश बदल्ने दाबी गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले कांग्रेस अब ‘कांग्रेस २.०’ को रूपमा अघि बढेको र युवासँग साझेदारी गरेर देश रूपान्तरण गर्ने अभियानमा लागेको बताएका हुन् । सभापति थापाले नेपाली कांग्रेसले पुराना राम्रा अभ्यासलाई निरन्तरता दिँदै कमजोरीहरू त्यागेर आफूलाई रूपान्तरण गरेको उल्लेख गरे । ‘नेपाली कांग्रेस बदलेर आएका छौं, यसले देशलाई बदल्छ। यो नयाँ नेपाली कांग्रेस हो—कांग्रेस २.० हो, जसले पुरानो कांग्रेसका सबै असल कुराहरू लिएको छ र खराब कुरालाई छाडेको छ,’ उनले भने । भिडियो सन्देशमा उनले नेपाली कांग्रेसलाई देश परिवर्तन गर्ने एउटा ‘एजेन्सी’को रूपमा व्याख्या गर्दै यही माध्यमबाट नेपाल बदल्ने साझा सपना साकार पार्न चाहेको बताए ।
‘म तपाईंहरूसँग काम गर्न चाहन्छु, सँगै हिंड्न चाहन्छु । बदलिएको नेपाली कांग्रेस एउटा एजेन्सी हो, यही एजेन्सी प्रयोग गरेर नेपाल बदल्ने तपाईं–मेरो सपना साकार पार्न चाहन्छौं,’ उनले भने । देशलाई सम्हाल्नुपर्ने गम्भीर अवस्था रहेको उल्लेख गर्दै सभापति थापाले नेपाललाई थप ध्वंशतर्फ जान नदिने प्रतिबद्धता पनि जनाए । ‘आज देशलाई सम्हाल्नुपर्ने अवस्था छ। हामी नेपाललाई सम्हाल्छौं र थप ध्वंशमा पर्न दिंदैनौं,’ उनले भिडियो सन्देशमा भने । उनले कांग्रेसले उत्तेजना र घृणाको राजनीति नगर्ने स्पष्ट पार्दै सबैलाई मिलाएर अघि बढ्ने नीति लिएको बताए । ‘हामी कुनै उत्तेजनाको राजनीति गर्दैनौं, कुनै घृणाको राजनीति गर्दैनौं। सबैलाई मिलाएर लिएर जान्छौं। मात्र मिलाउने होइन, नेपालको व्यवस्थालाई सुधार्ने र शासन गर्ने हाम्रो सोच र गति बदल्ने संकल्पसहित आएका छौं,’ थापाले बताए । सभापति थापाले युवालाई केवल भविष्य भनेर पन्छाउने होइन, बराबरीको साझेदारका रूपमा अघि बढ्ने धारणा राखे । ‘युवाहरू भविष्य मात्र होइनन्, उनीहरू पार्टनर हुन्। सँगै हिंड्ने हो,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्