काठमाडौँ – इरान वार्तामा बस्न सहमत भएको छ । परमाणु कार्यक्रम सम्बन्धी सम्झौताका लागि वार्तामा बस्न अमेरिकाले लगातार विभिन्न तरिकाले दबाब दिएपछि इरान अन्ततः वार्ताका लागि तयार भएको हो । दुई देशबीच ओमानको राजधानी मस्कटमा वार्ता हुने सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । मध्यपूर्वमा क्षेत्रीय द्वन्द्व सुरू हुने चिन्ताका बीच टर्कीलगायतका देशहरूले अमेरिका र इरानबीच वार्ताको बन्दोबस्त मिलाउन आफूहरू तयार भएको सन्देश दिएका थिए ।
यद्यपि वार्ता शुक्रबार ओमानमा हुने तय भएको हो । इरानले ओमानलाई अघिल्ला परमाणु केन्द्रित वार्ताहरूको निरन्तरता ठान्दै यही स्थान रोजेको क्षेत्रीय अधिकारीहरूले बताएका छन् । वार्तामा अमेरिकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ ज्यारेड कुश्नर र इरानबाट विदेशमन्त्री अब्बास अराक्ची नै सहभागी हुनेछन् । वार्ताको एजेन्डा के-कस्तो हुने भनेर खुलिसकेको छैन । दुवै देशबीच एजेन्डाबारे मतभेद छ। अमेरिका इरानको परमाणु कार्यक्रम र क्षेत्रीय गतिविधि वार्ताको एजेन्डामा समेटिनुपर्ने पक्षमा छ भने इरानले परमाणु कार्यक्रमबाहेक अन्य विषय छलफलयोग्य नरहेको भनेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्ता परमाणु विषयमा मात्र सीमित नरहने स्पष्ट पारेका छन्। उनका अनुसार इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम, मध्यपूर्वमा सशस्त्र समूहहरूलाई दिएको समर्थन र आन्तरिक मानवअधिकार अवस्थाबारे पनि छलफल हुनुपर्ने अमेरिकी अडान छ । इरानले आफ्नो परमाणु गतिविधि शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ । तर अमेरिका र इसराइलले विगतमा परमाणु हतियार विकासको प्रयास गरेको आरोप लगाउँदै आएका छन्। पछिल्लो समय अमेरिका हजारौं सैनिक, विमानवाहक युद्धपोत र लडाकु विमानहरू मध्यपूर्व पठाइसकेको छ । मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति बढ्दै गएको र सम्भावित सैन्य टकरावको डर क्षेत्रीय रूपमा बढिरहेका बेला यो कूटनीतिक पहललाई संवेदनशील रूपमा हेरिएको छ । पछिल्ला दिनहरूमा वार्ताको दायरा र स्थानबारे मतभेदका कारण बैठक नै नहुने हो कि भन्ने आशंका बढेको थियो। सुरुमा इस्तानबुलमा वार्ता गर्ने सहमति भए पनि पछि स्थान परिवर्तन गरेर मस्कटमा सारिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा अभिव्यक्ति दिँदै सर्वोच्च नेता आयातोल्लाह अली खामेनी ‘धेरै चिन्तित हुनुपर्ने’ बताएका छन् । गत गर्मीमा इसराइल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव झनै चर्किएको थियो। इरानले त्यसपछि आफ्नो मिसाइल भण्डार पुनः भरिएको दाबी गर्दै सुरक्षा खतरामा परे कडा जवाफ दिने चेतावनी दिएको छ । परमाणु सम्झौता नहुँदा ‘नकारात्मक परिणाम’ आउन सक्ने ट्रम्पको चेतावनीले इरानमाथि दबाब बढाएको छ ।
इरान भने प्रतिबन्ध हट्ने अपेक्षासहित वार्तामा इच्छुक देखिएको छ, किनकि पश्चिमी प्रतिबन्धले अर्थतन्त्र गम्भीर संकटमा परेको छ । यसैबीच अरब सागरमा तैनाथ गरिएको अमेरिकी लडाकू विमानबाहक युद्धपोत युएसएस अब्राहम लिंकनलाई लक्ष्य गरेर इरानले ड्रोन प्रहार गरेको घटना पनि बुधबार सार्वजनिक भएको थियो । घटनामा अमेरिकी लडाकू विमानले उक्त ड्रोन खसालेको दाबी गरिएको छ। साथै होर्मुज जलडमरूमध्यमा इरानी रिभोलुसनरी गार्ड कोरले अमेरिकी झण्डावाहक ट्याङ्करलाई धम्क्याएको घटनाले तनाव थप बढाएको छ ।





प्रतिक्रिया दिनुहोस्