Skip to content

पाकिस्तानले भारतविरुद्ध टी–२० विश्वकप खेल नखेल्ने निर्णय दोहोर्‍यायो

काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतविरुद्ध आईसीसी टी–२० विश्वकप २०२६ को खेल नखेल्ने निर्णय पुनः दोहोर्‍याएका छन् । बुधबार मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै उनले यो निर्णय गहिरो सोच–विचारपछि लिइएको भन्दै खेललाई राजनीतिबाट अलग राख्नुपर्ने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री शरीफले भने, “टी–२० विश्वकपका सन्दर्भमा हामीले स्पष्ट स्ट्यान्ड लिएका छौँ । हामी भारतविरुद्ध खेल्ने छैनौँ । खेलको मैदान राजनीति गर्ने ठाउँ होइन । खेलमा राजनीति घुसाउनु हुँदैन ।” उनले यस विषयमा बंगलादेशले लिएको निर्णयप्रति समर्थन जनाउँदै पाकिस्तान बंगलादेशसँग पूर्ण रूपमा उभिने बताए । “हामीले निकै सोचेर यो निर्णय गरेका हौँ । यस विषयमा बंगलादेशसँग उभिनु अत्यन्तै उचित निर्णय हो,” उनले भने । गत महिना बंगलादेशले सुरक्षा कारण देखाउँदै भारतमा आयोजना हुने टी–२० विश्वकपका खेलहरू खेल्न अस्वीकार गरेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई प्रतियोगितामा समावेश गरेको थियो । आईसीसीको उक्त निर्णयप्रति प्रतिक्रिया जनाउँदै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले डबल स्ट्यान्डर्ड अपनाइएको आरोप लगाउँदै कदमलाई ‘गलत’ भनेका थिए । यसैबीच, फेब्रुअरी १ मा पाकिस्तान सरकारले भारतविरुद्ध हुने टी–२० विश्वकपको खेल बहिष्कार गर्ने औपचारिक घोषणा गरेको थियो । १५ फेब्रुअरी २०२६ मा तय गरिएको उक्त खेलमा पाकिस्तानको टोली मैदानमा नउत्रने सरकारको स्पष्ट अडान छ ।

सरकारले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै भनेको थियो, “इस्लामी गणराज्य पाकिस्तानको सरकारले पाकिस्तान क्रिकेट टिमलाई आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागी हुन स्वीकृति दिएको छ । तर १५ फेब्रुअरी २०२६ मा भारतविरुद्ध तय गरिएको खेलमा पाकिस्तानको टिम मैदानमा उत्रने छैन ।”

प्रतिक्रिया दिनुहोस्