Skip to content

काठमाडौं–५ मा एमाले उम्मेदवार ईश्वर पोखरेलद्वारा सुझावको आह्वान

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका नेकपा एमालेका नेता ईश्वर पोखरेलले आफ्ना निर्वाचन प्रतिबद्धताका लागि जनतासँग सुझाव मागेका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रतिबद्धतापत्र निर्माणको क्रममा रहेको जानकारी दिँदै विशेषगरी क्षेत्रका जनता तथा युवाहरूलाई लक्षित गर्दै सुझावको आह्वान गरेका हुन् । नेता पोखरेलले नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाउँदै समाजवादको आधार निर्माणमा अघि बढ्ने उद्देश्यसाथ आफू उम्मेदवार बनेको दाबी गरेका छन् । “यस क्षेत्रका जनता, विशेषगरी युवाहरूको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता निर्माणको चरणमा छु,” उनले लेखेका छन्, “तपाईंहरूको सिर्जनात्मक र उपयोगी सुझावले मेरो योजनालाई अझ वस्तुनिष्ठ र फराकिलो बनाउने भएकाले सुझावका लागि अनुरोध गर्दछु ।” उनको यस आह्वानलाई आगामी निर्वाचनलाई लक्षित गर्दै मतदातासँग प्रत्यक्ष संवाद र सहभागिता बढाउने प्रयासका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्