रुपन्देही – बर्दियामा वन्यजन्तुको आक्रमणबाट एकै दिन दुई जना किसानको ज्यान गएको छ। मधुवन नगरपालिका–९ की ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका–४ का ३५ वर्षीय नन्दु रोकायको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मैसरा डाँगी आफ्नै खेतबारीमा काम गरिरहेका बेला जङ्गलबाट निस्किएको बाघको आक्रमणमा परेकी थिइन्। खोजतलासपछि उनको शव नेपाल–भारत सीमा नजिक फेला परेको थियो। यस्तै, नन्दु रोकाय बारबर्दिया नगरपालिका–११ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएका बेला चितुवाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । एकै दिन भएका यी घटनापछि वन क्षेत्र आसपासका स्थानीय बासिन्दा त्रसित बनेका छन्। मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको भन्दै स्थानीयले प्रभावकारी सुरक्षा, नियन्त्रणका उपाय र दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्। प्रहरी र वन कार्यालयले घटनाबारे संयुक्त अध्ययन गरी आवश्यक कदम चालिने तथा मृतक परिवारलाई राहत प्रक्रिया अघि बढाइने जनाएका छन् ।





प्रतिक्रिया दिनुहोस्